काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन् । कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।
उनले भने,‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी । कम्युनिस्ट एकदलिय सर्वसत्तावाद लागु गर्न चाहान्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ । स्थायी गराउन, कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् । सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौं हामीले । पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौं । अहिले पनि कम्युनिस्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ । प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’
कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आइपर्यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे । उनले भने,‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’
सभापति देउवाले नेपाली कांग्रेस पार्टीभित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाई छ । उनले भने,‘हाम्रो पार्टीले महिला दिदीबहिनीहरुलाई पनि नेपालको संविधान अनुरुप बराबर नै ३३ प्रतिशत महिलाहरुलाई हाम्रो पार्टीमा पनि आरक्षण गरेका छौं हामीले । महिलाहरुलाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिदैन, तबसम्म पार्टीको जित कहिल्यै हुँदैन । महिला शक्ति हो । जिताउन सक्छ महिलाहरुले, हराउन पनि सक्छ । महिलालाई जस्तो अधिकार देशले दिएको छ त्यो अधिकार कांग्रेसले पनि दिएको छ । महिला मतदातालाई हाम्रो पार्टीमा आकर्षित बढी गराउनुपर्यो ।’
प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्