तिलोत्तमामा थप ६० बेडको आइसोलेशन सेन्टर बनाउने तयारी

तिलोत्तमामा थप ६० बेडको आइसोलेशन सेन्टर बनाउने तयारी

 

तिलोत्तमा- कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शैंयाको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गर्न थालेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

केवलानीको सभाहल नयाँ रहेकोले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माणको काम तीव्रताको साथ अघि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले केवलानीमा आवश्यक पूर्वाधार व्यवस्थाप गरी आइसोलेशन निर्माण कार्यको लागि शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख उप—सचिव गंगाराम आचार्यले कार्यजिम्मेवारी तोकेको छ ।

यस्तै आवश्यक सहयोग एवं सहजीकरणको लागि वडा नं. ९ को कार्यालय, स्वास्थ्य शाखा, नगर प्रहरी, सूचना प्रविधि शाखालाई भनिएको छ । केवलानीमा समेत शंकरनमा जस्तै सुविधाको आइसोलेशन सेन्टर सञ्चालन गरिने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिनुभयो । महामारीको पूर्वतयारी स्वरुप एक तहको कोरोना अस्पताल बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ छ ।

आइसोलेशन सेन्टरमा चाहिने जनशक्तिको समेत व्यवस्थापन गरिने बताउँदै कोरोना फोकल पर्सन भट्टराईले महामारी नियन्त्रणमा सम्बद्ध संघ—संस्था, निकाय, नगरबासी सबैको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो । आइसोलेशन सेन्टरमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार हुनेछ । तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमित बिरामीको उपचारको लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था मिलाउन नगर उप—प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यवसायिक संघ—संस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरिएको छ ।

यस्तै आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघ—संगठनहरुलाई अनुरोध गरिएको छ । नगरपालिकाले कोरोना संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा विवाह, ब्रतबन्ध, पूजाआजा, भोज—भतेर जस्ता क्रियाकलापबाट कोरोना संक्रमण जोखिम उच्च हुने भएकोले अहिलेको विषम परिस्थितिमा यस्ता क्रियाकलाप नगर्न÷नगराउन सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij