आज मातातीर्थ औँसी : श्रद्धा, भक्तिसाथ मनाइँदै

आज मातातीर्थ औँसी : श्रद्धा, भक्तिसाथ मनाइँदै

काठमाडौं – आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ । मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

गएको वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । आमा नहुनेहरु औँसीका दिन बिहानै त्यस तीर्थमा गएर स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्ने गर्थे । मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij