नेपालमा आज (शुक्रबार) नाग पञ्चमी पर्व परेको छ । श्रावण शुक्ल पक्षको पञ्चमीका दिन प्रत्येक वर्ष सरिसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरेर यो पर्व मनाइन्छ ।
वैदिक मान्यता एवं परम्पराअनुसार सर्पको राजा मानिने नाग देवताको विशेष एवं धुमधामसाथ पूजा गरेर मनाइने पर्व नै नाग पञ्चमी हो । नागका बाह्रवटा नाम छन् । जसमा अनन्त, वासुकि, शेष, पद्यम, कम्बला, कर्कोटक, अश्भतरा, धृतराष्ट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला पर्छन् ।
तर आठ कूलका आठवटा नागको पूजा गर्ने चलन वैदिक सनातनकालदेखि चलेको हो । यो पर्वले घस्रेर जमिनमा हिँड्ने जनावरलाई मार्न हुँदैन र त्यस्ता जनावरको विशेष पूजाआजा एवं संरक्षण गर्नुपर्छभन्ने सन्देश दिने गरेको छ ।
अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । ब्राह्मण पुरोहितहरू आ–आफ्नो जजमानका घरको दैलोमा गाईको गोबर, दुबो लिएर नाग टाँस्न पुग्छन् ।
यसरी दैलो या मूल खाँम्बोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । रक्षार्थ यस्ता चित्रहरू टाँस्ने पुरोहितहरूलाई दक्षिणा, नैबेद्य दिने र भोजन पनि गराउने चलन छ ।आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैनभन्ने मान्यता छ ।
घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नी, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छभन्ने धार्मिक एवं शास्त्रीय विश्वास रहेको छ ।
नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । आज बिहानैदेखि देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, धान भुटेर तयार भएको लाभा, दुबो, खिर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।
वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने चलन बसालेको जनविश्वास छ ।
नागपञ्चमीको ऐतिहासिकता महाभारतसँग जोडिएको पाइन्छ । महाभारतमा उल्लेख भए अनुसार तक्षक नाम गरेको नागले डसेपछि परीक्षित् नाम गरेका राजाको मृत्यु हुन्छ । उनका छोरा जनमेजयले बुबाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने कार्य प्रारम्भ गरे । यसका लागि महायज्ञ सुरु गरेर उनले शिद्ध ऋषिमुनि, साधु र पण्डितहरूलाई आमन्त्रण गर्छन् ।
उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षकबाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भष्म हुन्छन् । तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्षक पनि विस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जनमेजयसम्म आइपुग्छन् । यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जनमेजयसमक्ष माफी मागेपछि उनले यज्ञ स्थगन गरेका हुन् ।
यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यसपछि आजैका दिन पुर्नजीवन पाएको विश्वास गरिन्छ । सामन्यतया अगाडि सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
कल्की जयन्ती पनि आजै
नागपञ्चमीका दिन कल्की जयन्ती पनि मनाइन्छ । यो सनातन दर्शनमा मनाइने पौराणिक दिवसहरू मध्येमा पर्छ ।
करिब तीन हजार वर्षअघिबाटै यो दिवस मनाइन थालेको प्रमाण छ । श्रावण शुक्ल षष्ठिका दिन सेतो रङ्गको घोडामा विराजमान भएर सबै देवी–देवताका साथ कल्की भगवान धर्तीमा अवतरण गर्ने जनविश्वास छ ।
यसकै आशमा प्रत्येक वर्ष वर्ष श्रावण शुक्ल पञ्चमीका दिन कल्की जयन्ती मनाउने चलान बसाइएको हो । जनविश्वास अनुसार भगवान विष्णुको दशौँ तथा अन्तिम अवतार ‘कल्की अवतार’ भविष्यमा आजकै दिन जन्म लिने धार्मिक मान्यता छ ।
कल्की जयन्तीले भगवान विष्णुको अन्तिम अवतारको जन्म हुन लागेको याद दिलाउने जनविश्वास छ । कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरूको विनास गरी पुनः एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुर्नस्थापित गराउने शास्त्रहरुमा वर्णन गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्