काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११:५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा. अधिकारीले बताउनुभयो ।
फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यको तर्फबाट बोका र राँगाको बली दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८:४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८:३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बली पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
प्रकाशित मिति : शुक्रबार, असोज ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्