बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी सम्झौता ( एमओयु)भएको छ । समझदारी पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले बुधबार हस्ताक्षर गरे । सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आएर काम गर्ने छन् । पहिलो चरणमा ३ जना एमडीजीपी विद्यार्थीहरु आउनेछन् भने क्रमशः नर्सिङ, एमडी/एमएस अध्ययन गर्ने विद्यार्थीहरु पनि आउने छन् । यो सम्झौताले विरामीले सहज र छिटो सेवा पाउनुका साथै उपचारको गुणस्तरमा पनि सुधार हुने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले बताए । उनले भने -खासगरी शल्यक्रियाका लागि पालो कुरेर बसेका विरामीले छिटै पालो पाउने छन् । सम्झौतापछि लुम्बिनी प्रादेशिक अस्पताल शैक्षिक गतिविधिमा आवद्ध हुने र चिकित्सकहरुलाई प्रक्रिया पुर्याएर शिक्षक बनाउन सकिने ढकालले बताए । कर्णालीबाट आउने विद्यार्थीलाई लुम्बिनी प्रादेशिक अस्पतालले निःशुल्क आवास सुविधा उपलब्ध गराउने छ । कार्यक्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक दशकको अवधिमै अब्बल सावित गरेको उल्लेख गर्दै अन्य प्रदेशका अस्पतालसंग पनि यस्तै सम्झौता गर्न सुझाव दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले प्रतिष्ठानमा विरामीको चाप कम हुने तर विद्यार्थी धेरै भएकाले बिरामीको चाप धेरै भएको लुम्बिनी प्रादेशिक अस्पतालसंग सहकार्य गरेको बताए । भविष्यमा प्रतिष्ठानमा अध्यापन हुने ९ वटै विषयका विद्यार्थी पठाउने डा. थापाले बताए ।
प्रकाशित मिति : बुधबार, चैत्र २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्