नेपालको नयाँ संबिधान अनुसार मुलुक संघीय संरचनामा प्रवेश गरेको पनि आधा दशक भन्दा बढी भयो । संघीयता स्थापनासँगै यसको कार्यान्वयनको शिलशिलामा अधिकार सम्पन्न स्थानीय तहको संरचना पनि बन्यो । स्थानीय तहको संरचना निर्माण भएसँगै स्थानीय तहमा आफैले चुनेका जनप्रतिनिधीहरुले नेतृत्व गर्ने अवसर पाए । गाँउ विकास समितिका रुपमा रहेका स्थानीय तहहरु स्थानिय सरकारका रुपमा अधिकार सम्पन्न पालिकामा रुपान्तरण भए । संघीयता स्थापनासँगै गाविसबाट नगरपालिका बनेको देवदह नगरपालिकामा नगर प्रमुखका रुपमा पहिलो नेतृत्व बिसं २०७४ यता हिराबहादुर (केसी) खत्रीले गर्दै आउनु भएको छ ।
नयाँ नगरपालीकामा आफु नयाँ मेयर अर्थात पहिलो नगर प्रमुखका रुपमा निर्वाचित भएसँगै उहाँले देवदहको सर्वाङ्गिण बिकासका लागि धेरै योजना र कार्यक्रमहरु अघि सार्नुका साथै थुपै्र भौतिक विकास निर्माणका कामहरु गर्नु भएको छ । कृषि, पर्यटनको प्रचुर सम्भावना बोकेको देवदहको नेतृत्व लिई सकेपछि मेयर केसीले शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार र कृषि लगायतका क्षेत्रमा धेरै कामहरु गर्नुभएको दावी गर्नु भएको छ । आफु कार्यकालमा रहदा धेरै नमुनायोग्य कामहरु, नगरको सडक संजाल, एक उद्यान एक पहिचान, नगरको पर्यटन गुरुयोजना निर्माण, कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम, अब्यबस्थित बसोबास क्षेत्रमा लगत संकलनका साथै नाप जाँच शुरु लगायतका कामहरुलाई विशेष जोड दिइएको उहाँले बताउनु भएको छ ।
नयाँ नगरपालीका र नयाँ संरचना भएकोले आफुले सोंचे जति काम गर्न नसकेको उहाँको भनाई छ । तर पहिलो कार्यकालमा आफुले अघि सारेका महत्वपुर्ण कामहरु सम्पन्न गर्न आफुले पुनः उम्मेदवारी दिएको र निर्वाचित भएर आउनु पर्ने आवश्यक्ता रहेको पनि बताउनु हुन्छ । यसरी नगरपालिकामा आफुले सुरुवात गरेका कामहरु पुरा गर्न देवदह नगरपालिकामा पुनः मेयरका लागि हिराबहादुर केसी चुनावी मैदानमा उत्रिएको बताउनु हुन्छ । नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट मेयरका लागि उम्मेदवारी दिएका नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत रहेका केसीसँग हाम्रा सहकर्मीले गरेको कुराकानीको सम्पादीत अंश ।
देवदहमा तपाईको उम्मेदवारी किन ?
ऐतिहासिक एवं पुरातात्विक महत्वले भरिपुर्ण देवदह आफैमा कृषि र पर्यटकीय सम्भावना बोकेको नगर हो । यसको विकासका लागि दिर्घकालिन योजनाहरु आवश्यक पर्दछन् । हिजो मेरो कार्यकालमा थालिएका योजनालाई मुर्तरुप दिन र देवदहलाई भिजन अनुसारको नमुना नगर बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ । यो मेरो मात्र होईन, देवदहबासीले मलाई पुनः नगरको नेतृत्व लिन भन्नुभयो, अनि मैले मेयर पदमा पुनः उम्मेदवारी दिएको हु । हामी माओवादी केन्द्र लगायतका साथिहरुसँग मिलेर चुनावी मैदानमा उत्रिएका छौं । देवदहमा १५ हजार सुकुम्बासीलाई लालपुर्जा दिलाउने, सबै वडामा समान रुपले भौतिक पुर्वाधार बिकास र सामाजिक बिकासलाई लक्ष बनाएर काम गर्न हामी कस्सिएका छौं ।
तपाईले दोस्रो पटक उम्मेदवारी दिनु भएको छ, नागरिकको घर–घरमा पुग्दा प्रतिकृया कस्तो पाउनु भएको छ ?
प्रतिकृया मिश्रित छन् । केहीको बहालमा रहदाँ उहाँहरुको चाहना अनुसारको कार्य सम्पादन गर्न सकिन भन्ने टिप्पणी छ भने केहीको पुनः देवदहलाई तपाई नेतृत्वको खाँचो छ भन्ने प्रतिकृया आएको छ । उहाँहरु दुबैका सुझावलाई मैले ग्रहण गरेको छु । हिजो म अल्पमतमा थिए, चाहेर पनि धेरै योजना र कामहरु कुशलतापुर्वक सम्पन्न गर्न सकिन । त्यो स्वीकार्नै पर्छ । कतिपय योजनाहरु ल्याउदै गर्दा ति योजनाहरु कार्यपालिकामा पेश हुन सकेनन् । जसकारण केही नागरिकले निराशाका कुरा गर्नु भएको छ, त्यो जायज हो । आउने नेतृत्व बहुमतका साथमा विजयी हुन्छ र हामीले धेरैका अपेक्षा आउने कार्यकालमा पुरा गर्ने गरि प्रतिवद्धताहरु ल्याएका छौैं । ति प्रतिवद्धताहरु संकल्पका साथ पुरा गर्ने विश्वास म मतदाताहरुलाई दिन्छु ।
हिजो र आजको परिवेश फरक छ, फेरी पनि तपाईको जित्ने रणनीतिक योजना र आधारहरु के–के छन् त ?
पहिलो कुरा हामी नेपाली काँग्रेस नेतृत्वको राजनैतिक गठबन्धनबाट चुनावमा होमिएका छौं । यो नै चुनाव जित्ने बलियो आधार भएको म स्मरण गराउन चाहान्छु । दोश्रो कुरा हामी देवदहका सबै वडाका नागरिकका घरघरमा पुगेकै छौं, हिजो मैले गरेका र गर्न बाँकी रहेका कामका विषयमा प्रतिकृया पनि लिएका छौं । देवदहका १२ वटै वडाबासी नागरिकको विश्वास म र हाम्रो पार्टी माथि छ । नगरको विकासका लागि यहाँका जनताहरुले जुन विश्वास गरेर मलाई मत दिन्छु भन्न भएको छ, त्यहि नै मेरो जित्ने रणनीतिक आधार हो । हिजो र आजको परिवेश केही पनि फरक छैन । बस कार्यक्रम र योजनाहरु धेरै छन् । यहाँका नागरिकसँग हिजो गरेका र यो निर्वाचनमा गरेका प्रतिवद्धताहरु पुरा गर्नुछ ।
तपाईको पहिलो कार्यकालमा कस्ता योजनाहरु आए र सम्पन्न हुन बाँकी छन् त ?
बिसं २०७४ सालको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भई सकेपछि स्थानीय सरकार संचालन ऐन अनुसार हामीले नगरलाई संचालन गर्नका लागि ६४ वटा ऐन, नियम, कानुन, कार्यविधी, नियमावलीहरु निर्माण गरि सकेका छौं । तत्कालको अवस्थामा ति निति नियमलाई टेकेर केही कामहरु पनि हामीले अगाडि बढाएका छौं । वडाका प्रशासनीक भवनहरु, प्रत्यक वडामा आधारभुत स्वास्थ्य चौकीहरु, शैक्षिक संस्थाको गुणस्तर र पुर्वाधार बिकास निर्माणहरु, पर्यटन र कृषिसँग जोडिएका महत्वपुर्ण कामहरु र यहाँका पुर्वाधार विकासका केही कामहरु हामीले अगाडि बढाएका छौँ । केही महत्वपुर्ण योजना बनाएका छौं । यो अवधिमा नगरको आवधिक योजना र प्रोफाईल पनि निर्माण गर्याैं । देवदहको आवधिक योजनाका माध्यमबाट तत्काल गर्नुपर्ने कामहरु, दिर्घकालिन कामहरुलाई प्राथमिकता दिने कामहरु भएका छन् । नगरको पर्यटन गुरुयोजना निर्माणको काम अन्तिम चरणमा छ । नगरको सडक संजाल (एमटीएम)को काम पनि अगाडि बढेको छ । गौतमबुद्धको मावलीस्थलका रुपमा परिचित देवदहको पर्यटकीय र ऐतिहासिक महत्वलाई झल्काउने गरि र पर्यटकीय क्षेत्रको विकास गर्ने गरि बौद्धकालिन क्षेत्रको संरक्षणको काम र देवदहलाई पर्यटकीय नगरी बनाउनका लागि पार्क, बिहार र उद्यान निर्माणका कामहरु पनि अगाडि बढाइएको छ । एक उद्यान एक पहिचानको अवधारणालाई हामीले सुरुवात गरेका छौं । बुद्ध अन्तराष्ट्रिय शान्ति उद्यान तथा संग्रालयको परिकल्पनालाई पुरा गर्ने योजना पनि हाम्रो कार्यकालमा बनाएका छौं ।
भनेपछि यत्ति मात्र योजनाहरुको थालनी गरियो । शिक्षा, स्वास्थ्य क्षेत्रमा खासै उपलव्धी नभएको हो त ?
कुरा त्यसो होईन, हामीले यहि कार्यकालमा माध्यमिक तहको शिक्षालाई निःशुल्क बनाउने भनेका थियौं । तर संघिय सरकारले शिक्षक दरवन्दी मिलानको कामलाई सहि समयमा टुङ्गाउन नसकेका कारणले हामीले हाम्रो कार्यकालमा त्यो कुरालाई भनेजति सम्बोधन गर्न सकेनौ । आउने कार्यकालमा हामीले माध्यमिक शिक्षालाई पुर्ण रुपमा निःशुल्क र गुणस्तरीय बनाउने योजना छ । सामुदायिक विद्यालयमा जुन गरिव, विपन्न र आर्थिक अवस्था कमजोर भएकाले मात्र पढ्ने शिक्षालय भन्ने मान्यता छ नि त्यसलाई भत्काएर सबैका लागि सम्मान गर्ने खालको सामुदायिक विद्यालय बनाउने हाम्रो प्रतिवद्धता छ । स्वास्थ्यमा आधारभुत स्वास्थ्यलाई निःशुल्क र प्रभावकारी बनाउने, विश्वशनीय र गुणस्तरीय बनाउने योजनाहरु प्रसस्त छन् । यस्तै नगर अस्पतालको अवधारणालाई हामीले अगाडि बढाएर छौं, आउने कार्यकालमा त्यसलाई पुर्णता दिएर नगरबाटै स्तरिय स्वास्थ्य सेवा दिने हाम्रो प्रतिवद्धता छ । हामीले स्वास्थ्य बीमाबाट धेरै नागरिकलाई लाभ पुराउने उद्देश्यले योजनालाई रणनीतिक कार्ययोजना बनाएका छौ ।
शिक्षा, स्वास्थ्य जस्तै कृषिमा निर्भर देवदहका किसानका लागि आशा लाग्दो काम के गर्नु भयो ?
एउटा कुरा प्रष्ट पार्न चाहान्छु सरकारले किसान भेटेको छैन र किसानले सरकार भेटेको छैन, खाली विचौलियाले मात्र फाईदा लिएको छ भन्ने कुरालाई अन्त्य गर्न कृषिमा हामीले उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई अत्यन्त प्रभावकारी रुपमा नगरपालिकाले कामहरु अगाडि बढाई सकेको छ । हामीले वडा नम्बर ११ र १२ मा कृषि उजप संकलन केन्द्र स्थापना गरेर कामलाई अगाडि बढाएका छौं । यो कार्यकालमै उत्पादित तरकारीमा प्रतिकेजी ५ रुपैयाँ अनुदान कार्यक्रम संचालन गरि सकेका छौं । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र त्यसमा रोजगारी सृजना गर्ने र कृषि पेशालाई सम्मानीत पेशाका रुपमा स्थापित गराउने गरि काम थालेका छौ । हिजोको दिनमा गोवर फाल्नेलाई गोठालो र हलो जोत्नेलाई हलि भन्ने जुन मान्यता थियो । तिनलाई गर्व गर्ने खालको पेशाका रुपमा स्थापित गर्ने वातावरण हामीले सुरुवात गरेका छौं । अघिल्लो कार्यकालमा थालिएका कृषि, पर्यटन र पुर्वाधार लगायतका योजनाहरुलाई पुरा गर्ने गरि प्रतिवद्धताहरु हाम्रा छन् ।
देवदहमा अब्यवस्थित सुकुम्बासी बस्तिहरु छन् तिनलाई त खासै सम्बोधन गरेको कुरा सुनाउनु भएन त ?
हो, तपाईले निकै महत्वपुर्ण कुरा उठाउनु भयो । अघिल्लो कार्यकालमा हामीले रुपन्देहीमै पहिलो पटक देवदहमा सुकुम्बासी तथा अब्यबस्थित बसोबास क्षेत्रमा लगत संकलन सम्पन्न गरि जग्गा नापजाँच र कित्ताकाट समेतको सुरुवात गरि सकेका छौ । मुलुकमै नगरपालीकाको क्रियाशिलतामा सुरुवात गरिएको यो कार्य पहिलो हो । आगामी बर्ष भित्रै लालपुर्जा बितरण गर्ने प्रतिबद्धतालाई हामी पुरा गरेरै छाड्छौ । त्यसलाई पुरा गर्नका लागि हामीले जित सुनिश्चित गर्नु छ । हाम्रै सकृयतामा भुमिहिन तथा सुकुम्बासी आयोगसँग सम्झौता भै देवदहमा नापजाँच र कित्ताकाट सुरु गरिएको हो । त्यसलाई अवको वर्षमा पुरा गर्ने गरि योजना थालिएको र त्यसलाई पुरा गर्ने जिम्मेवारी पनि उत्तिकै छ । अहिले माओवादी केन्द्र लगायतका साथीहरुसँग गरेको गठबन्धनले त्यो विजयी सुनिश्चित गर्ने पुर्ण विश्वासमा हामी छौं । आगामी निर्वाचनमा बिजयी भएसँगै पहिलो लक्ष देवदहको सुकुम्बासी तथा अब्यबस्थित बसोबासको समस्या समाधानमा लागिने छ । दोश्रो भौतिक पुर्वाधार बिकास र तेश्रो सामाजिक बिकासमा ध्यान दिईने छ ।
तपाईले चुनाव जितेमा कस्ता योजनाहरुलाई विशेष प्राथमिक्तामा राखेर काम गर्नुहुन्छ ?
मैले अघिनै भनिसकें देवदहका प्राथमिकता योजना भनेकै सुकुम्बासी समस्या समाधान, शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार र कृषिको बिकास हुन् । मुख्यतयः यस नगरमा आधारभुत स्वास्थ्य सेवा निःशुल्क गर्नु छ भने प्रत्येक वडामा २४ सै घण्टे स्वास्थ्य सेवा र ल्याव अनिवार्य गर्नु परेको छ । त्योसँगै आधारभुत र अनिवार्य निःशुल्क शिक्षा, अधितम प्रविधियुक्त प्रशासनीक सेवा प्रदान गर्ने, देवदहलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने, नीतिगत भष्ट्राचारको अन्त्य गर्दै सरल, सहज पारदर्शी र जवाफदेहीता सहितको प्रशासनिक सेवा दिने, कृषि उपज संकलन केन्द्र संचालन र शीत भण्डारको निर्माण गर्ने, धुलो र हिलो सहित गुणस्तरीय सडक निर्माणलाई पहिलो प्राथमिकता दिने, पर्यटकीय चक्रपथ निर्माण र यातायातका साधनको नियमित संचालन गरि सबै पर्यटकीय क्षेत्रमा विद्युत, खानेपानी, शौचालयको उचित ब्यवस्थापन गर्ने, जेष्ठ नागरिकलाई निःशुल्क घरदैलोमा स्वास्थ्य परिक्षणको ब्यवस्था गर्ने, एकवडा एक खेल मैदान निर्माण गर्ने, नगरभित्रका पार्क तथा उद्यानहरु स्थापना गरि पर्यटकीय गन्तब्य बनाउने, स्थानीय मिडिया, संस्था, लक्षित समुहलाई विशेष अनुदान सहित कार्यक्रम संचालन गर्ने लगायतका योजनाहरुलाई हामीले गठबन्धनमै माध्यमबाट प्राथमिकतामा राखेका छौ, हामी निर्वाचित भई सकेपछि यि कामलाई हामीले प्राथमिकताका साथमा अगाडि बढाउने म गठबन्धनकै तर्फबाट आम नगरबासी दाजुभाई दिदिबहिनीहरुलाई विश्वास दिलाउन चाहान्छु ।
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्