९ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय मिडिया सम्मेलन

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय मिडिया सम्मेलन

काठमाडौं – ९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सकिएको छ ।

चैत १६–१७ गते भएको नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै ९ बुँदे घोषणापत्र जारी गरेको महासचिव रोशन पुरीले जानकारी दिएका छन् ।

सम्मेनलले पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरूलाई पत्रकार महासंघको सदस्यता परित्यागका लागि आग्रह गरेको छ ।

सम्मेलनले संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल पत्रकार महासंघको ‘राष्ट्रिय मिडिया सम्मेलन’ लुम्बिनी, घोषणापत्र – २०७९

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौं बैठक नवलपरासीको रामग्राम र ‘राष्ट्रिय मिडिया सम्मेलन’ रुपन्देहीको लुम्बिनीमा सम्पन्न भएको छ । २०७९ चैत १६–१७ गते सम्पन्न केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै यो घोषणापत्र जारी गर्दछ ।

१. नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारको साझा संगठनका रूपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउन यो सम्मेलन प्रण गर्दछ । सदस्यता शुद्धीकरणका लागि तयार मापदण्डलाई प्राप्त सुझावलाई समेटेर अन्तिमरुप दिने र प्रस्तावित तालिकाअनुसार नै काम गर्ने प्रतिवद्धता जनाउँदछ ।

२. पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरूलाई सदस्यता परित्यागका लागि यो सम्मेलन आग्रह गर्दछ । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित विदाइ गर्ने र जनप्रतिनिधि, सरकारको पूर्णकालीन कर्मचारीको सदस्यता स्वतः समाप्त हुनेगरी काम थाल्न तीनवटै समितिलाई यो सम्मेलन निर्देश गर्दछ ।

३. विधानको दफा ५ को उपदफा (८) अनुसार आउँदो महाधिवेशन भन्दा ६ महिना अगाडिसम्म कायम सदस्यले मात्रै महासंघको आउँदो चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्थालाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

४. नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरे पनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउन बनाउनु पर्ने सञ्चार सम्बद्ध कानूनहरू नबनेकोप्रति नेपाल पत्रकार महासंघको यो सम्मेलन गम्भीर चासो र चिन्ता व्यक्त गर्दछ । नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानून निर्माणका लागि यो सम्मेलन पुनः माग गर्दछ । साथै, संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदछ । राजनीतिक दललाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न आग्रह गर्दछ ।

५. श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानूनअनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरू बञ्चित भइरहेका छन् । यो सम्मेलन ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ । साथै दबाब, आन्दोलन र कानूनी उपचारलगायतका ट्रेड युनियन अभ्यासलाई थप प्रभावकारी बनाउने प्रण गर्दछ ।

६. सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गर्दै यो सम्मेलन स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई र प्रदेश सरकार मातहतको विज्ञापनलाई प्रदेश अन्तर्गतका सञ्चारमाध्यममा दिनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।

७. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दै यो सम्मेलन पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने घोषणा गर्दछ ।

८. गौतम बुद्धको जन्मस्थल लुम्बिनी, अस्तुधातू मध्येको एक अस्तुधातू रहेको नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट, बुद्धको मावली स्थल देबदह क्षेत्रको प्रचार प्रसार, सम्बर्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि लुम्बिनी बिकासको गुरुयोजना पूर्ण कार्यान्वयनका लागि सबै तहका सरकार तथा लुम्बिनी विकास कोषलाई यो सम्मेलन आग्रह गर्दछ ।

९. नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको आतिथ्यता गर्ने महासंघ लुम्बिनी प्रदेश समिति र समन्वय गर्ने महासंघका रुपन्देही, कपिलवस्तु र अर्घाखाँची शाखा, महासंघको ८औँ केन्द्रीय समिति बैठकको आतिथ्यता गर्ने नवलपरासी शाखा साथै लुम्बिनी विकास कोष, सामाजिक सुरक्षा कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, प्रेस काउन्सिल नेपाल र रुपन्देहीका स्थानीय तहलाई धन्यवाद ज्ञापन गर्दछ ।

 

प्रकाशित मिति : शनिबार, चैत्र १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij