बुटवलको आम्दामा फार्मेसी, पिसिएल नर्सिङ र एचएका लागि तयारी

बुटवलको आम्दामा फार्मेसी, पिसिएल नर्सिङ र एचएका लागि तयारी


बुटवल-बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ।
बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभीटीसँग अनुमति माग गरिएको हो।
आम्दा अस्पताल सञ्चालक समितिको आइतबार बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययनका लागि अनुमति प्राप्त हुने प्रक्रियामा रहेकाले आवश्यक काम अगाडि बढाउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो।
नगरप्रमुख पाण्डेयको नेतृत्वमा जापान गएको टोलीले गत जेठमा आम्दा इन्टरनेशनलसँग अस्पतालको स्तरोन्नति गर्दै जनशक्ति उत्पादनमा जोड दिने समझदारी गरेको थियो। सोही समझदारीअनुसार अस्पतालमा २ सय बेड थप गर्ने निर्णय सञ्चालक समितिको बैठकले अनुमोदन गरेको पाण्डेयले बताउनुभयो।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघले अस्पतालको स्तरोन्नति गर्नका लागि सामुहिक प्रतिबद्धता जनाएका छन्।
बैठकले समझदारी गरिएअनुसारका काम अगाडि बढाउनका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। यस्तै बैठकले आगामी कार्तिक १६ गते आम्दा अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी रजत उत्सव मनाउने निर्णय गरेको छ।
तत्कालीन नगरप्रमुख सूर्यप्रसाद प्रधानले समझदारी गरी स्थापना गरेको अस्पताललाई थप व्यवस्थित बनाउँदै बुटवल क्षेत्रकै विशिष्टीकृत अस्पतालका रुपमा अगाडि बढाउने गरी काम शुरु भएको नगरप्रमुख पाण्डेयले बताउनुभयो।
यस्तै अस्पतालमा न्युरोसम्बन्धि उपचार शुरु गर्नका लागि आवश्यक प्रक्रिया पूरा गर्ने गरी काम अगाडि बढाउने निर्णय बैठकले गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा बालबालिकाको लागि पुस्तकालय स्थापना गर्ने निर्णय पनि गरिएको छ।
२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो। ५० शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन्।

प्रकाशित मिति : सोमबार, असार ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij