मिडिया बलियो भएमात्र सरकार बलियो ः मुख्यमन्त्री चौधरी

मिडिया बलियो भएमात्र सरकार बलियो ः मुख्यमन्त्री चौधरी

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको सकारात्मक आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गरेका छन् । बुटवलमा शुक्रबारदेखि शुरु भएको प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताए । उनले राजनीतिक परिवर्तनमा मिडियाहरुको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु बलियो भए मात्र सरकार बलियो हुने बताए । ‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ, तसर्थ मिडियाहरु बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मानयता छ’– मुख्यमन्त्री चौधरीले भने– ‘मिडियाहरुले सरकारको गुनगान गाउनु पर्दैन, आलोचनात्मक लेख्नुस् तर कसैलाई सिध्याउने गरी मिडिया लाग्नुहुँदैन ।’

मिडियाको सबलीकरणमा प्रदेश सरकार साथमा रहेको भन्दै उनले सरकारको प्राथमिकता विकास र समृद्धि भएकाले त्यसमा साथ दिन उनले सञ्चारमाध्यमलाई आग्रह गरे । प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरि त्यसको सम्भावना रहेको उनले दावी गरे । ‘हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिबासी जनजातिका संस्कृतिहरु र प्रशस्त हिल स्टेशनहरु छन् ’, चौधरीले भने– ‘प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि छलफल गरिरहेको छ ।’ व्यक्तिगतरुपमा अनुदान माग्न नआउन आग्रह गर्दै मुख्यमन्त्री चौधरीले सञ्चार संस्थालाई संस्थागतरुपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पारे ।

सम्मेलनमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बोल्दै नेपाली मिडियाहरु चरम संकटमा परेको बेला लुम्बिनी प्रदेशमा प्रकाशन तथा प्रसारण संघले गरेको मिडिया सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले बोल्दै कोभिडपछि नेपाली मिडिया हाउसहरु अत्यन्तै धराशायी भएको बताउँदै मिडिया क्षेत्रमा प्रकाशक र प्रसारण संघका समस्याहरु सुल्झाउन पत्रकार मातहतका संगठनहरुले चासो नदेखाएको गुनासो गरे । अग्रज पत्रकार कनकमणि दीक्षितले बोल्दै समयको परिवर्तनअनुसार पत्रकारहरुमा पनि क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । नेपाली पत्रकारहरुको लागि वैचारिक संकट, आर्थिक संकट र स्रोतको संकट भएकाले तुलनात्मक रुपमा नेपाली पत्रकारिता अगाडि बढ्न नसकेको बताए ।

त्यस्तैगरी अग्रज पत्रकार युवराज घिमिरेले बोल्दै मिडियाको व्यवसायिक विकासका लागि सबैको साथ र सहयोग हुनुपर्ने बताए । त्यस्तैगरी कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलगायतले बोल्दै मिडियाको विकासका लागि स्थानीय सरकारको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तैगरी कार्यक्रममा मित्रबहादुर शाक्य, दाङका वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा र बुटवलका अग्रज पत्रकार कर्णबहादुर कार्कीलाई सम्मान गरिएको थियो । सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता रहेको छ । सम्मेलनले मोफसलका मिडियाहरुको सबलीकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपतालगायतका विषयमा वसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij