तिलोत्तमा , शँकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीको दशौं अधिबेशन अन्तर्गत पहिलो चरणको निर्वाचन प्रक्रिया शुरु भएको छ । समूहको विधानमा भएको ब्यवस्था अनुसार बुधबार १४९ जना परिषद सदस्य (.पार्षद) का लागि उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको छ ।
५८४.६० हेक्टर क्षेत्रफल रहेको सामुदायिक बनको सेवा क्षेत्र भित्र तिलोत्तमा नगरपालिकाका वडा नं. १,२,३ र ४ अन्तर्गत ९ वटा ब्लक छन् भने करिव १६०० उपभोक्ता सदस्यहरु रहेका छन् । यिनै उपभोक्ता सदस्यहरु मध्येबाट पहिलो चरणमा १४९ जना परिषद सदस्य निर्वाचित हुनेछन् ।
परिषद सदस्यहरुको निर्वाचन पश्चात दोस्रो चरणमा प्रत्येक ब्लकबाट एक एक जना संयोजकको निर्वाचन हुनेछ । ब्लक संयोजकका लागि सम्वन्धित ब्लकका निर्वाचित परिषद सदस्यहरुले मतदान गर्नेछन् । निर्वाचित ब्लक संयोजक सामुदायिक वनको कार्यसमिति सदस्य हुनेछ ।
ब्लक संयोजकको निर्वाचन पश्चात तेस्रो चरणमा निर्वाचित संयोजकको अध्यक्षतामा प्रत्येक ब्लकका परिषद सदस्यहरुको बैठक बसी ९ वटा ब्लक बाट ४९ जना परिषद सदस्यहरुको मनोनयन गर्ने बनको विधानमा ब्यवस्था रहेको छ । प्रत्यक्ष निर्वाचनमा सहभागि भई पराजित भएको उपभोक्ता समूह सदस्यलाई मनोनित प्रक्रियामा सहभागि हुन विधानले रोकेको छ ।
सामुदायिक वनको विधानमा उपभोक्ता परिषदमा महिला सदस्यहरुको प्रतिनिधित्व ५० प्रतिशत अनिवार्य हुने ब्यवस्था गरिएको र परिषद सदस्यहरुको प्रत्यक्ष निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व ५० प्रतिशत भन्दा कम भएमा मनोनित प्रक्रियाबाट उक्त संख्या पुरा गर्न मनोनयनको ब्यवस्था गरिएको हो । विधान अनुसार सामुदायि वनमा निर्वाचित परिषद सदस्य १४९, मनोनित परिषद सदस्य ४९ तथा निवर्तमान अध्यक्ष पदेन परिषद सदस्य गरी १९९ जनाको उपभोक्ता परिषद हुनेछ ।
१९९ जनाको उपभोक्ता परिषद गठन पश्चात अन्तिम चरणमा परिषद सदस्यहरु मध्येबाट सामुदायिक बनको पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा समिति संयोजक र दुई जना सदस्यको निर्वाचन हुनेछ । पदाधिकारीको निर्वाचन गर्दा कुनै दुई पदमा महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्