नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ

काठमाण्डाै – इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ जानुभएको छ ।

यसअघि चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टु‍ङ्गो थिएन । तर अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेपछि बिहान ४ बजे मात्रै नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा रहेका यात्रुलाई दुबई ओरालेपछि जहाज त्यहाँबाट इजरायल उड्ने तालिका छ ।

‘हिजोको मन्त्रिपरिषद् बैठकले नेपाल एअरलाइन्सको विमानमा परराष्ट्रमन्त्री साउदलाई पठाउने निर्णय गरेको थियो । तर चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टुङ्गो थिएन’ मन्त्री साउदको सचिवालयले भनेको छ, ‘अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेको हो ।’ जहाज राति ११ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तालिका भए पनि ढिलो गरी उडेको छ ।

परराष्ट्रमन्त्रीसँगै मन्त्रालयका सहसचिव शरद आरण पनि इजरायल जानुभएको छ । पहिलो चरणमा आज २ सय ५४ जनालाई स्वदेश ल्याएपछि फेरि अरुलाई लिन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा रहेका नेपालीमध्ये स्वदेश फर्कने इच्छा राख्दै ३ सय ५० जनाभन्दा धेरैले नाम टिपाएका छन् । अहिले कामको लागि गएका नेपालीभन्दा पनि पढ्न गएका २ सय ६५ जनाले नै नेपाल आउन चासो देखाएकाले उनीहरुलाई पहिलो प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

इजरायलमा प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासको आक्रणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बेपत्ता रहेका विपीन जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । घाइते चार जनामध्ये एकजना डिस्चार्ज भएका छन् । युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका १ सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij