बुटवलका २३ चोकचौराहामा हाइमास्ट लाइट जडान हुने

बुटवलका २३ चोकचौराहामा हाइमास्ट लाइट जडान हुने

बुटवल, २ फागुन-बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ।

६५औ स्थापना दिवसको अवसर पारेर बुधबार नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाइमास्ट लाइट निर्माणस्थलमा शिलान्याश तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गरे। हाइमास्ट लाइट जडानस्थलमा शिलान्याश गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रम अन्तरगत बुटवलका २३ वटा स्थानमा हाइमास्ट लाइट जडान गर्ने बताए।

उनले बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त सहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढेको बताए। उनले बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम गरिरहेको बताए।

बसपार्कलाई सुविधासम्पन्न बनाउनका लागि स्नानगृहसहितको शौचालय निर्माण भइरहेको, उच्च क्षमताको वाइफाइ जडान भएको र हाइमास्ट लाइट जडान हुने क्रममा रहेको बताउँदै नगर प्रमुख पाण्डेयले छिटै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन सञ्चालन हुने बताए।

उनले नगरले ६५औ स्थापना दिवस विविध सिर्जनात्मक कार्यक्रम गरी मनाइरहेको बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारलाई विशेष प्राथमिकता दिएको बताए।

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले नगरभित्रका विद्यालयबीचमा फुटबल प्रतियोगिता, लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि लोकनृत्य प्रतियोगिता, महिलालाई सीप र उद्मसँग जोड्न गृहणी महिला रोजगार कार्यक्रम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको बताए।

यस्तै उनले नगरभित्रका जेष्ठ नागरिक र अपांगता भएका र फरक क्षमता भएकाहरुको घरदैलोमै उपचार सेवा पुर्‍याउन बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन भइरहेको बताए।

यस्ता धेरै कार्यक्रमले बुटवललाई समुन्नत सहरका रुपमा स्थापित गर्ने बताउँदै उनले उज्यालो बुटवल कार्यक्रमले सहरलाई उज्यालो बनाउने र रात्रीकालीन बजार सञ्चालनका लागि समेत सघाउ पुर्‍याउने बताए।

बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन्। जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान हुनेछन्।

यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान हुनेछन्। यस्तै गरी नेपाल टेलिकम अगाडि,  उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान हुने श्रेष्ठले बताए।

उनका अनुसार टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग  २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको छ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij