बुटवल-बुटवल लुम्बिनी प्रदेशको सबैभन्दा धेरै चहलपहल हुने शहर हो । धेरैतिरबाट बसाइसराइ गरी बुटवल आउनेको संख्या दिनदिनै बढ्दो क्रममा छ । यसले बुटवल शहरको सीमा बढ्दै गएको छ । शहरसँगै जनसंख्या बढ्दै जाँदा बुटवल बजारमा रहेका वनजंगल र हरियाली मासिँदै गएको छ । अर्कोतिर जनसंख्या बढ्दा शहरमा फोहरमैला र प्रदुषण पनि बढ्दै गइरहेको छ । प्रदुषण कम गर्न आवश्यक रुखबिरुवाको आवश्यकता हुने महसुस हुन थालेपछि बुटवललाई हरियाली शहर बनाउने योजना बुटवल उपमहानगरपालिकाले बनाएको छ ।
यसै क्रममा बुटवल उपमहानगरपालिकाले शहरी क्षेत्रका मुख्य सडक सरसफाइ गर्ने र वृक्षरोपण अभियानलाई तीब्रता दिएको छ । गतवर्ष साउन १५ गतेदेखि ४५ दिने अभियानअन्तर्गत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने काम भएको थियो । उपमहानगरपालिकाले यसरी रोपिएका बिरुको संरक्षण र सम्बद्र्धनका साथै सडक क्षेत्रको सरसफाइ गर्ने कामलाई निरन्तरता दिइरहेको छ ।
उपमहानगर प्रमुख खेलराज पाण्डेयका अनुसार मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र बिरुवा रोपिएको छ । बुटवल नगरमा सुरु गरिएको बिरुवा र फूल रोप्ने कामलाई नगरको भित्री सडक, खोलानाला र सार्वजनिक स्थलमा समेत बिस्तार गरिएको छ भने प्रत्येक महिना नियमितरूपमा ती क्षेत्रको सरसफाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।
। पाण्डेयका अनुसार बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गर्नका लागि चालू अर्थिक वर्षमा मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरूलाई समेत यसको बिस्तार गर्ने कामलाई उपमहानगरपालिकाले निरन्तरता दिनेछ । गतवर्ष नगरलाई हरियाली बनाउन ‘एक घर, तीन रुख’ कार्यक्रम सञ्चालन गरिएको थियो जसका लागि १२ लाख छुट्याइएको थियो ।
सरसफाइ तथा वृक्षरोपणका लागि बुटवल उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्था, राजनीतिक दल, स्वयंसेवी संस्था, क्लब आदिको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए।
यसैगरी बुटवलको तीब्र बजारीकरणसँगै सडकमा आपराधिक घटना पनि बढ्दै गएको देखिन्छ । विशेषगरी सडक र गल्लीको अँध्यारो स्थानमा लुकेर लुटपाट हुने घटना बढ्दै गएको थियो । यस्तो परिस्थितिलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले सडकबत्ती राख्ने योजना कार्यान्वयनमा ल्याएको छ । सडक बत्तीको उचित प्रबन्ध नहुँदा अँध्यारोको फाइदा उठाउँदै लुटपाट र अराजक गतिविधि हुने गरेको गुनासो आएपछि बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोकमा उच्च क्षमताका हाइमास्ट लाइट जडान काम अगाडि बढिरहेको छ । यसले पैदलयात्री र व्यवसायीलाई पनि सहयोग पुगेको छ । “केही महिनाअघिसम्म साँझ पर्ने बित्तिकै सडक अँध्यारो हुने र हिँडडुल गर्नै नसक्ने स्थिति थियो”, बुटवल ११ उपमहानगरपालिका–११ देविनगरका सबिता बराल भन्छिन्, “उपमहानगरपालिकाले बत्ती जडा गरिदिएपछि रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो भएका छन् । हामीले सुरक्षित महसुस गर्न पाएका छौँ ।” उपमहानगरपालिकाले पोल–पोलमा जडान गरेको बत्तीले आफूहरूको बस्ती नै उज्यालो बने पछि सुरक्षित भएको उनको भनाइ थियो ।
‘‘पहिला–पहिला भित्री सडकमा अधिकांश पोलमा बत्ती थिएनन्”, बुटवल देवसिद्ध चोकका डण्डपानी न्यौपानेले भने, “अब लाइट जडान भएपछि यस क्षेत्रका सडकमा साँझ हिँडडुल गर्न समस्या छैन । हामी निर्धक्क भएर २४ सैँ घण्टा हिँडडुल गर्न पाएका छौं ।” “बिगतमा साँझ परेपछि वा रातीको समयमा सडक अँध्यारो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना निकै नै हुने गरेको थियो”, न्यौपानेले भने “अब नगर क्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत कमी आएको छ, हामीले सुरक्षित महसुस गरिरहेका छौँ ।” यसबाहेक पोल–पोलको बत्तीले नगर क्षेत्र नै झिलीमिली बनेपछि सौन्दर्यता पनि बढेको उनी बताउँछन् ।
बुटवल उपमहानगरले गत आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रमअन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यकरणका लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
सोही बजेटमार्फत उज्यालो बुटवलको सपना पूरा गर्न शहर क्षेत्रका २३ वटा चौकमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको हो । उपमहानगरपालिकाले उज्यालो बुटवल बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास्ट तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बन्ने भएको हो । बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन् । जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट भइरहेका छन् ।
यस्तै बीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवसिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान हुनेछन् । यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकी नजिकै १० मिटरका ४ वटा लाइट जडान हुने श्रेष्ठले बताए । उनका अनुसार टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको हो ।
बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त सहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम भइरहेको छ । बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम गरिरहेको उपमहानगरपालिकाले जानकारी दिएको छ । उज्यालो बुटवल कार्यक्रमले सहरलाई उज्यालो बनाउने र रात्रीकालीन बजार सञ्चालनका लागि समेत सघाउ पु¥याएको छ भने शहरलाई हरियाली बनाउने योजनाले नगरलाई थप सुन्दर बनाउँदै लगेकोे छ । उज्यालो बत्ती र हरियाली कार्यक्रमले निरन्तरता पायो भने वातावरणीय र उज्यालो सहरको अनुभूति गर्न पाउने छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्