बुटवल -देश संघीय संरचनामा रुपान्तरित भएपछि स्थानीय सरकारले जनमुखी योजनाहरु सञ्चालनमा ल्याएका छन् । यसरी स्थानीय तहको आवश्यकताका आधारमा परियोजना सञ्चालन हुन थालेपछि जनताले केही राहत महसुस गर्न पाएका छन् । बुटवल उपमहानगरपालिकाले स्थानीय सरकारको जिम्मेवारी अन्तर्गत रहेको सहरी कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । यसले मूलतः शहरी किसानलाई उत्पादनमा सजिलो भएको छ । उपमहानगरले स्थानीय किसानलाई अनुदानमा बीउ तथा उपकरण प्रदान, फसल धितो राखेर अनुदान, जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान, कौसीमा तरकारी खेती, जैविक मल र महामारीमा आर्थिक प्रोत्साहनसहितका कार्यक्रमसहित सहरी कृषि प्रबद्र्धन अभियान सञ्चालन गरेपछि स्थानीय किसान खुशी छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १४ का रामनाथ उपाध्यायले बिगत १५ वर्षदेखि आफ्नै स्वामित्वमा रहेको १३ कट्ठा र १३ कट्ठा लिजमा लिएर जम्मा २६ कट्ठामा आर्गनिक कृषि तथा पशुपन्छी फारम सञ्चालन गरिरहेका छन् । उनी भन्छन्, ‘कृषि पेशाबाटै परिवारको जीविका चलिरहेको छ । यति मात्रै होइन, केही व्यक्तिले रोजगारी पाएका छन् भने उत्पादन बिक्रीबाट दैनिकरुपमा केही रकम बचत पनि भइरहेको छ ।’ उनी थप्छन्, ‘सिजन अनुसारका तरकारी खेतीमा रसायनिक मल प्रयोग गरिँदैन । प्राङ्गारिक मलको प्रयोग गरेर सबै उत्पादन गर्दै आएको छु ।’ उपाध्यायले उत्पादन भएको तरकारीले बजार पाए तापनि बजारमा अनुसार कृषकको लगानी र मेहनतअनुसार भने मूल्य भने नपाइएको गुनासो गर्छन् ।
तथापि पछिल्लो समय उपमहानगरपालिकाले कृषकका गुनासो सुनी राहात हुने गरि केही प्याकेजमा कार्यक्रम ल्याएको हुँदा त्यसबाट अलिअलि भए पनि फाइदा पुगेको छ । उनी भन्छन् ‘कृषि पेशामा आबद्ध भएको लामो समयपछि मेरो मेहनतको मूल्याङ्कन गर्दै उपमहानगरपालिकाले बिरुवाका बेर्ना उर्मान घर बनाउनका लागि २० हजार , तोरीको बिउ ६ हजार, पशु गोठ मर्मतका लागि ३५ हजार सहयोग दिएको छ ।’ केही वर्ष यता बजारमा खेत जोताउने ट्याक्टरको मूल्य ह्वात्तै बढेका कारण किसान मर्कामा परेका छन् । किसानले उत्पादन गर्ने खेतीयोग्य जमिनका आधारमा हाते ट्याक्टरका साथै विभिन्न उपकरण दिएमा खेती गर्न सहज हुने उनी बताउँछन् ।
बुटवल १४ का रामनाथ मालीले आजभन्दा १६ वर्ष अगाडिबाट ७ विघा जग्गामा रवि दुध तथा आर्गनिक फर्म सञ्चालन गरिरहेका छन् । उनी मकै, टमाटर ,सिमी, बोडी, करेला ,भिण्डी ,पर्वल, बन्दागोपी ,मुला ,गाजर लगायतका तरकारी उत्पादन गर्छन् । वार्षिक ३० लाख बराबरको कारोबार हुने गरेको फर्ममा दैनिक ६ जनाले रोजगारी पाएका छन् । मालीलाई उत्पादन गरेको कृषि सामाग्रि बेच्नका लागि बजारको कुनै अभाव छैन । उनी भन्छन्, ‘मैले उत्पादन गरेको तरकारी सहजैरुपमा बुटवल जैविक उपज सहकारी संस्था लिमिटेडले उचित मूल्यमा खरिद गरिदिन्छ ।’
बुटवल–१२ की सावित्रा रेग्मीको दैनिकी खेतमा नै बित्ने गर्छ । रेग्मी आफू मात्रै व्यस्त छैनन् कि उनीसँगै गाउँका ६ जना महिला पनि उत्तिकै व्यस्त छन । सिद्धबाबा तरकारी उत्पादक कृषक समूहबाट रेग्मीसहितको समूहले २ बिगाहा जमिन भाडामा लिएर सामूहिक खेती गरिरहेका छन् । बुटवल उप–महानगरपालिकाले कृषि व्यवसाय प्रबद्र्धन ऐन, २०७४ पारित गरि कार्यान्वयनमा ल्याएपछि जग्गा नहुने तर कृषि गर्न चाहनेले जग्गा भाडामा लिएर सामूहिक खेती गर्न सहज बनाइदिएको छ । स्थानीय सरकारको कानुनी व्यवस्थाले पनि यस्ता सामूहिक खेतीको प्रबद्र्धनलाई सहयोग पुगेको छ । कृषिको व्यावसायिक उत्पादन, खरिद, बिक्री, सञ्चय र बजारीकरणका लागि उपमहानगरले सहजीकरण गर्ने, अनुदान र प्रोत्साहन र सामूहिक खेती प्रोत्साहन गर्ने व्यवस्था ऐनमा गरिएका कारण बुटवलका सामूहिक खेती गर्न चाहने कृषि उत्साहित भएका छन् ।
विगत ५ बर्षदेखि सामूहिक तरकारी उत्पादन गर्दै आएको सिद्धबाबा तरकारी उत्पादक कृषक समूहले स्थानीय बुटवल उपमहानगरपालिकाको ऐनमा भएको व्यवस्थाअनुरुप नै काम गरेका कारण जग्गा भाडामा लिनेदेखि सहुलियत अनुदान समेत पाएको रेग्मीले बताउँछन् । उनी भन्छिन्, ‘स्थानीय सरकारले हामीजस्तो कृषकको मनोबल बढाएको छ र उत्पादन बढासन प्रोत्साहन पनि गरेको छ । यति मात्रै होइन, हामीले उपकरण समेत सहयोग पाउँदा उत्पादन गर्न सजिलो भएको छ ।’ व्यवसायिक सामूहिक कृषि खेती गर्न शुरु गरेसँगै बुटवल–उपमहानगरपालिकाले कृषिमा आधुनिकिकरणका लागि (मिनी टेलर( अर्थात हाते ट्याक्टर, धान काट्ने ¥यापर,थोपा सिचाई, ग्रिन हाउस निमार्ण, जग्गा संरक्षरणका लागि तार तारजाली लगायतका अन्य औजार र उपकरण प्रदान गरेको रेग्मीले बताइन । यसरी स्थानीय सरकारले सहज बनाइदिएका कारण बुटवलमा सामूहिक कृषिमा संलग्न हुनेको संख्या बढ्दै गइरहेको छ । यसैको अर्को उदाहरण हो बुटवल उपमहानगरपालिका वडा नं. १७ मा रहेको सम्पूर्ण महिला कृषि सहकारी संस्था । स्थानीय सरकारको नीतिका कारण कृषिमा आर्कषित भएको सहकारीका अध्यक्ष माया भण्डारीले बताउँछिन् । उनी भन्छिन्, ‘कृषि क्षेत्रमा केही गर्न चाहने धेरैलाई उपमहानगरपालिकाको सहरी कृषि प्रबद्र्धन कार्यक्रमले आकर्षण गरिरहेको पाएको छु ।’
बुटवल उपमहानरापलिकाका प्रमुख खेलराज पाण्डेले नगरमा किसानको समस्या समाधानको लागि किसानको माग आवश्यकता के हो भन्ने विषयमा किसानबाट नै सल्लाह, सुझाब लिएर सोहीअनुसार कार्यान्वयन गर्दै आएको बताउँछन् । पाण्डेका अनुसार स्थानीयलाई जीवनस्तर वृद्धिका लागि आधुनिक व्यवसायीक कृषि विकासको लक्ष्यलाई साकार बनाउन सहरी कृषि लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । उपमहानगरले किसानले माग गरेअनुसार बिउ बिजनमा ५० प्रतिशत अनुदान रहेको र उत्पादनमा आधारित खाद्यान्न बालीको बिउ उत्पादन (धान, गहुँ, मकै), तरकारी उत्पादन (रायो, गोभी, सिमि गाजर लगायत), मसला (लशुन, प्याज, बेशार लगायत) र फलफूलमा प्रतिकेजी तीन रुपैयाँका दरले किसानलाई नगद प्रदान गर्दै आएको छ ।
बुटवल उप–महानगरपालिकाका उपप्रमुख सावित्रा देवीे अर्यालले बुटवललाई कृषिमा आत्म निर्भर बनाउनका लागि पालीकाले विभिन्न योजनाहरु ल्याएको बताउँछिन् । पछिल्लो समय विषादीयुक्त खानेकुराको प्रयोगका कारण हरेक जीवित प्राणीमा नकरात्मक असर पारेको हुनाले प्राङ्गारिक मलको प्रयोगमा ल्याइएको र यसले आर्गनिक उत्पादनमा जोड दिएको उनले जानकारी दिइन ।
बुटवल उपमहानगरपालिकाको कुल ३२ प्रतिशत क्षेत्रफल खेतीयोग्य छ । उपमहानगरपालिका कृषि शाखाका अनुसार करिब ४ हजार घर परिवार कृषि पेशामा आबद्ध रहेका छन् । कुल खेतीयोग्य जमिनको २० प्रतिशत क्षेत्रफलमा सिंचाइ सुविधा पुगेको छ भने किसानको मागअनुसार एकलाख मूल्यसम्मका साना ट्युबवेल पनि किसानलाई वितरण गरिएको कृषि विकास शाखाका अधिकृत सन्तोष जिसीले बताए ।
रासायनिक मल व्यवस्थापनका लागि मात्रै बुटवलमा १२ वटा सहकारीले जिम्मा पाएका छन् । किसानका घरदैलोमा रहेका वडा कार्यालयबाटै अनुदानको मल वितरणका लागि उपमहानगरपालिकाले स्वीकृती दिएको छ । जथाभावी रसायनिक मलको प्रयोगमा बन्देज लगाइएको छ । जैविक खेतीका लागि जैविक मलको उत्पादन गर्न पनि उपमहानगरले अनुदानको व्यवस्था गरेको छ ।
तीबाहेक बाँझो जग्गाको सदुपयोग गर्नेगरी जग्गा भाडामा अनुदान, उत्पादनमा आधारित कार्यक्रम, व्यवसायिक तरकारी उत्पादन पकेट क्षेत्र विकास कार्यक्रम, व्यवसायिक मौरीपालन, फलफूल बगैंचा स्थापनाका लागि सामुहिक खेती, कृषि औजार उपकरणमा अनुदान, कौसीमा तरकारी खेती कार्यक्रम, ‘एक स्थानीय तह, एक उत्पादन’ जस्ता कार्यक्रमले बुटवलको कृषि क्षेत्र मौलाएको छ ।
बुटवल उपमहानगरपालिका भित्र ८० वटा कृषि फार्म दर्ता भएर सञ्चालनमा छन् । बुटवल उपमहानगरपालिकाभित्र जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्ने किसानलाई प्रतिकट्ठा वार्षिक १८ सयका दरले नगरपालिकाले भाडा तिरिदिने व्यबस्था गरिएको छ । बुटवल उपमहानगरपालिका भित्रका किसानले उत्पादन गरेका कृषि वस्तुलाई बजारीकरण गर्नको लागि विभिन्न संस्थासँग समन्वय गरी संकलन गर्ने र पुरानो बसपार्कमा रहेको मण्डीस्थित सटर नम्बर २३ बाट बिक्री वितरण हुँदै आएको छ । बुटवल जैविक कृषि सहकारी संस्था बुटवल उपमहानगरपालिका १५ ले किसानका उत्पादन संकलन गर्दै आइरहेको छ ।
बुटवल नगर भित्र १५७४ हेक्टर सिंचित खेतीयोग्य जमिन,असिंचित खेती योग्य १ हजार ३ सय ८७ हेक्टर जमिन रहेको छ । नगरमा रहेका १९ वडा मध्ये वडा नम्बर ११, १२, १३ ,१४, १५, १६, १७ ,१८ र १९ वडामा कृषि खेती हुने गरेको छ । धान ,गहुँ, मकै, तरकारी, र फलफुल , केरा ,खाद्यान्य बाली र मौरी पालन लगायतका उत्पादन हुने गरेको छ । त्यस्तै १,२,३,४,५,६,७,८,९,१० वडा नम्बरमा भने कौसी तथा करेसाबारी तरकारी उत्पादन क्षेत्र छुट्याएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्