बुटवल,

सडककाे दुरावस्ताका कारण यात्रुहरुलाई सहज र सुरक्षित यात्राको ब्यवस्थापन चुनौतीपुर्ण भएको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन ।

आईतबार बुटवलस्थित पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आयोजना गरेको विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बाेल्ने ब्यवसायीहरुले आफुहरूसँग नेपालमै महंगा र सुविधा सम्पन्न गाडीहरू भए पनि सडकको दुरावस्ताका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको गुनासो गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले स्थानिय सरकार नगरबासीहरुको सुविधा र सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गर्दै चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्ने गरि विभिन्न सरोकारवाला निकायहरुसंग काम गरिरहेको बताए । धेरै यात्रुहरुको चाप हुने बसपार्कको सुरक्षा गतिविधिलाई सिसिटिभि क्यामराबाट निरिक्षण, सरसफाई, शौचालयलाई ब्यवस्थापन लगायतको काम भएको भन्दै उनलेे यसमा सबै नगरबासीको साथ र सहयोग जरुरी रहेको बताए ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले आम ब्यवसायीहरुको हकहितसंग आम उपभोक्ताहरुको सुविधाको विषयमा संस्था सधै गम्भिर रहेको बताए । आफुहरूसँग सुविधासम्पन्न र नेपालमै महंगा सवारी साधनहरू रहेको बताउदै अध्यक्ष खरेलले सडकको दुरावस्थाको कारण यात्रुले सहजरूपमा यात्रा गर्न नपाएको गुनासो गरे । उपभोक्तालाई सेवा दिने भनेर ल्याइएको ईभिको नाममा देखिएको दलाली रोक्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले शान्तिसुरक्षाको विषयको गलत भाष्य बनाउन नहुने बताए ।

चाडपर्व नजिकिएसंगै आम जनसमुदायको सुरक्षा, सहजताको विषयमा योजना बनाउने गरेको भन्दै उनलेे बढि भाडा लिने, क्षमताभन्दा बढि सवारी चढाउने जस्ता गुनासोप्रति विशेष चासो दिएर रोक्नेतर्फ आफुहरु लागेको उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले सबै ब्यवसायलाईै मर्यादित र ब्यवस्थित रुपमा सञ्चालन गर्ने तर्फ सबै सचेत हुनुपर्नेमा जाेड दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले यात्रुलाई सुरक्षित रुपमा गन्तब्यमा पुराउने प्रमुख जिम्मेवारी यातायात ब्यवसायीको भएको बताए ।

कार्यक्रममा प्रालिका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले यात्रुहरुको सुरक्षित यात्रा गर्ने अभियानमा आफुहरू लागेको दाबी गरे । उनलेे सरोकारवाला निकायहरुसंग समन्वय गरि सहज र सुरक्षित यात्राकाे ब्यवस्था मिलाएको दाबी गरे ।

यसैबिच प्रालिले बुटवल अटो ईन्जिनियरिङ एशोसियसनमा निर्वाचित अध्यक्ष प्रेम गौचनसहित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडमा निर्वाचित पदाधिकारीहरुलाई समेत सम्मान गरिएको प्रालिका कोषाध्यक्ष मोहन पिएसले जानकारी दिए ।

साे अवसरमा दुर्घटनामा ज्यान गुमाएका प्रालिका सहचालक एवं पश्चिम नेपाल बहुउदेश्यीय सहकारी संस्थाका शेयर सदस्य सन्तोष बिकको परिवारलाई बिमा वापतको रकम हस्तान्तरण गरिएको थियो । परिवारका सदस्य श्रीमति बिबिता श्रीष र छोरा कुशल सुनार (नाबालक) लाई १५ लाख रुपैया रकम हस्तान्तरण गरिएको हो ।  एउटा कर्मचारीको परिवारको हितमा संस्थागत रुपमा ठुलो सहयोग गर्न सफल भएको अध्यक्ष खरेलले बताए । विगतबाट नै कर्मचारी र ब्यवसायीहरुलाई समेटेर सहकारीमा जोड्ने काम गरेको उनले दाबी गरे ।