काठमाण्डौ – आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ । आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ । विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत निकालेको छ । यस्तै बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने साइत छ ।
टीकाको साइत र महत्त्व
हाम्रा विभिन्न ठूला पर्वमा साइत हेर्ने/खोज्ने चलन छ । विजयादशीमा त साइतलाई अझ धेरै महत्त्व दिइन्छ । विजयादशमीको दिनलाई आफैँमा शुभ मानिन्छ । तर विजयादशमीको टीका लगाउन साइत नै किन खोजिन्छ भन्नेबारे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल भन्नुहुन्छ, ‘साइत भनेको शुभ समय हो, शुभ समयमा गरेका कुराहरूको शुभ फल प्राप्त हुन्छ । मुख्यतया देवीको आराधना गर्न, देवीको विसर्जन गर्न मुख्य शुभ समय रह्यो भने देवी खुशी भएर आउने र वरदान दिने भन्ने शास्त्रीय मान्यता छ ।’
तर सबैले साइतमै टीका लगाउन नभ्याउन पनि सक्छन् । यस्तो बेला के गर्ने त ?
‘साइतमा नभ्याउनेले पनि आफ्नो अनुकूलमा टीका लगाउन सकिन्छ । देवीको आवाहन गर्ने, पूजा गर्ने, विसर्जन गर्ने सबै बिहानको समयमा हो । तैपनि राम्रो समयमा हेरेर गर्छु भन्नेलाई साइत हो’, कार्यकारी निर्देशक ढुङ्गेलले भन्नुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जुराएको बिहान ११ बजेर ३६ मिनेटको शुभसाइतमै टीका लगाउनका लागि घरघरमा तयारी भइरहेको छ । तर यो साइतमै टीका लगाउन सबैलाई पायक नपर्न सक्छ । साइतमा टीका लगाउन नभ्याउँदैमा बरबाद भयो, टीका लगाउन बिग्रियो भन्ने ठान्न पर्दैन भन्नुहुन्छ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल ।
‘११ बजेर ३६ मिनेटमा टीका लगाउन शुरू गर्ने समय हो । हाम्रो परम्पराअनुसार नभ्याएकाले पूर्णिमासम्म माइत, मावली, ससुराली गएर टीका लगाउन चलन त छँदैछ । साइत कुर्दा काम बिग्रने भयो भन्नु पनि पर्दैन । बेलुकासम्म, जतिबेरसम्म पनि टीकाको दिन टीका लगाउन सकिन्छ । तर सबैभन्दा राम्रो शुभ समयमा लगाउँदा शुभ फल बढी प्राप्त हुने हुनाले शुभ समय खोजिएको छ । राष्ट्रप्रमुखहरूले शुभ समयलाई ध्यान दिनुपर्ने हुन्छ । सर्वसाधारणले भने सामान्य अवस्थामा साइत कुरिरहनुपर्दैन’, उहाँले भन्नुभयो ।
पहिलो परापूर्वकालमा राजामहाराजाका पालादेखि साइत जुराउने चलन रहेकोमा अहिलेसम्म पनि त्यसले निरन्तरता पाएको र सर्वसाधारणले पनि साइत नै खोज्ने गरेको ढुङ्गेलको भनाइ छ ।
प्रकाशित मिति : शनिबार, असोज २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्