रुपन्देही,
गृहमन्त्री रमेश लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताएका छन् । उनले वर्तमान सरकार संविधान संसोधन, राजनीतिक स्थायीत्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको उल्लेख गर्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताए । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले १० वर्षको अवधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने बताए ।
संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको उनको भनाइ छ । अर्को एक फरक प्रसंगमा गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौं मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको दावी गरे । मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदूरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने उनले जिकिर गरे ।
लाखौं गरीब मान्छेको अरबौं रुपैयाँ हिनामिना गर्ने ,ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने , यो कस्तो कुरा हो, मन्त्री लेखकले भने, ‘दिनभरी काम गरेको भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भिड जम्मा गरेर न्यायका कुरा गर्ने मन्त्री लेखकले भीडले न्याय दिने भए प्रहरी, अदालत र न्यायाधीश किन चाहियो भन्दै प्रतिप्रश्न गरे । उनले सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलाई अनुसन्धानका लागि ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको दावी गरे ।
प्रकाशित मिति : बुधबार, पुष ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्