भैरहवा,
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नागरिक समाजले जनताको मुद्दा प्रत्यक्ष रुपमा बुझेको बताएका छन् । उनले नागरिक समाजलाई अगाडि बढाउँदै अझ जिम्मेवार र बलियो बनाउनुपर्नेमा जोड दिए । शुक्रबार भैरहवामा रुपन्देही नागरिक समाज, सिद्धार्थनगरको नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् ।
‘समाजको विकृति, विसंगतिविरुद्ध यहाँहरुले आवाज उठाउनुभएको छ । तपाईहरु धन्यवादको पात्र हुनुहुुन्छ । तपाईहरुले समाजको अगुवाई गर्नुपर्छ’उनले भने, ‘नागरिक समाज बलियो र जिम्मेवार भए समाज रुपान्तरण हुन्छ भन्ने हेक्का राख्नुपर्छ ।’ उनले समाज रुपान्तरणका लागि जागृत हुनुपर्नेमा जोड दिए ।
उनले विगतमा आफू पनि नागरिक समाजको आन्दोलनमा सहभागी भएको स्मरण गरे । नागरिक समाज आफ्नो अभिभावक भएको उनको भनाइ छ । ‘माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा कमजोर छ । शिक्षालाई गुणस्तरीय बनाउनैपर्छ’ उनले भने, एउटा मन्त्री र जनप्रतिनिधिबाट मात्र सम्भव छैन । नागरिक समाजले अगुवाइ र भूमिका निर्वाह गर्न सक्छ । शिक्षित समाजले नै समाजलाई समृद्ध बनाउँछ ।’
मन्त्री तिमिल्सिनाले भगवान घरभित्रै भएको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनीले नेपाललाई संसारमै चिनाएको तर, यसको महत्व जनप्रतिनिधिले बुझाउन नसकिरहेको हो कि जस्तो लागेको बताए ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीको विषयमा जति प्रशंसा गर्नुपर्ने हो, राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा जति अगाडि बढाउनुपर्ने हो । त्यति गर्न सकिरहेका छैनौं’ उनले भने, ‘हाम्रो अभिभावकले महत्व हामीले बुझ्न सकेका छैनौं ।’
मन्त्री तिमिल्सिनाले पछिल्लो समय विदेश पलायन हुने नेपालीको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरे । ‘रेमिट्यान्सले मुलुक आर्थिक रुपमा समृद्ध हुन्छ भन्ने गर्व गर्नुभन्दा हामीले नेपालभित्रै रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । तर, यसतर्फ हाम्रो राजनीतिक नेतृत्वले गर्न नसकेको हो कि जस्तो लाग्छ, ’उनले भने ।
त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले जनताको समस्या नागरिक समाजले नजिकबाट बुझेको बताए । ‘नागरिक समाजले धेरै क्षेत्र हेर्नुपर्ने आवश्यकता छ ’उनले भने, ‘समाजसँग सहकार्य गर्दै अघि बढ्छौं ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खाँले नागरिक समाज निस्वार्थ भावनाका साथ अघि बढ्दै विकृति, विसंगतिविरुद्ध आवाज उठाएको बताए । ‘तपाईहरु हिम्मतका साथ अगाडि बढ्नुभएको छ ’उनले भने, ‘अझै राम्रो काम गर्न योजना बनाएर अघि बढ्न म आग्रह गर्दछु ।’
नगर उपप्रमुख उमा अधिकारीले सबैले आफ्नो भूमिका निर्वाह गरे समाज अघि बढ्ने बताइन् । उनले सिद्धार्थनगरलाई पर्यटकीय हब बनाउन पहिला बेलहिया नाकालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल, रुपन्देहीका कार्यालय प्रमुख हरि ज्ञवालीले संवैधानिक निकायको कर्मचारी भएको हिसाबले नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
नागरिक समाज रुपन्देही, सिद्धार्थनगरका पूर्वअध्यक्ष क्याप्टेन रेशम के।सी।ले संस्थामा बसेका व्यक्तिहरुको सबैभन्दा पहिला नियत राम्रो हुनुपर्ने बताए । हामी स्वच्छ भएनौ भने समाज सुधार गर्न सक्दैनौं’उनले भने, ‘समाज सुधार गर्न पहिला आफूबाट सुधार गर्नुपर्छ ।’
रुपन्देही नागरिक समाजका अध्यक्ष ईश्वरी प्रसाद चापागाईंले संस्थालाई अगाडि बढाउन सबैको उत्तिकै भूमिका रहेको बताए । उनले नागरिक समाजले सुशासनका लागि वाच डगको रुपमा काम गर्दै आएको बताए ।
समाजका नवनिर्वाचित अध्यक्ष अमित कुमार गुप्ताले आफूले कुरामा भन्दा काममा विश्वास राख्दै आएको बताए । ‘मुखले बोल्नुभन्दा व्यवहारमै देखाउनुपर्छ भन्ने मेरो चाहना छ ’उनले भने, ‘मलाई यहाँहरुले जिम्मेवारी दिनुभएको छ । संस्थाको उद्देश्य अनुसार दृढतापूर्वक अगाडि बढ्छौं । इमान्दारिताका साथ काम गर्छौं ।’
नागरिक समाज सिद्धार्थनगर समितिका अध्यक्ष राजा प्रताप शाहीले नवनिर्वाचित टीमले अझ राम्रो काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रुपन्देही नागरिक समाजका अध्यक्ष ईश्वर प्रसाद चापागाईंले नवनिर्वाचित अध्यक्ष अमित कुमार गुप्तालाई पद हस्तान्तरण गरेका थिए ।
त्यस्तै संस्थाका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । गत मंसिर १५ गते रुपन्देही नागरिक समाजको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले अमित कुमार गुप्ताको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा शारदा पोखरेल, उपाध्यक्षमा कल्पना अर्याल, महासचिवमा दीपक के।सी।, सचिवमा तुलसा शर्मा वाग्ले, कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे, सदस्यहरुमा नरेन्द्र क्षेत्री, शेर बहादुर काफ्ले र अरुण कुमार श्रेष्ठ निर्वाचित भएका थिए ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष ईश्वरी प्रसाद चापागाई, कानूनी सल्लाहकार तारानाथ आचार्य, छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनका निर्वाचन मण्डलका संयोजक तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, निर्वाचन अधिकृत दिलिप कुमार मल्लिक, समाजका पूर्वअध्यक्ष क्या। रेशम के।सी।, ठाकुर प्रसाद गुरौ लगायतलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, पुष २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्