तुलसीपुर , नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन्।
नेपाल थारु संघको आज तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताए।
“संविधान, कानून र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ”, उनले भने, “कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानूनविपरीत हुन्छ।”
महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने बताए। विगतजस्तो कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उनको भनाइ थियो।
उनले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए।
“नेता बलियो बनाएर पार्टी बलियो हुन्छ भन्ने होइन, कार्यकर्ता बलियो भएपछि मात्रै पार्टी बलियो हुन्छ”, महामन्त्री थापाले भने, “अब दाङका उम्मेदवार दाङकै पार्टीले छान्न पाउने गरी विधान बदल्नुपर्छ, दाङका उम्मेदवार काठमाडौँले छान्ने कुरा वैज्ञानिक छैन।” संवैधानिक राजतन्त्र ल्याउन नसकिने उल्लेख गर्दै महामन्त्री थापाले यो कुरा सबैले बुझ्न आवश्यक रहेको बताए। सङ्घीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनको भनाइ थियो।
अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान संशोधनमार्फत समाधान गर्नतर्फ पहल लिनुपर्ने महामन्त्री थापाले बताए। सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने उनको भनाइ थियो।
“देशमा केही हुँदैन कि भन्ने छ, नागरिकमा खुशी छैन”, महामन्त्री थापाले भने, “यसका लागि सरकारमा बस्ने व्यक्तिले आचरण सुधार गर्नुपर्छ, ब्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ, त्यसो भएमा सबै समाधान हुन्छ।”
प्रकाशित मिति : आइतबार, चैत्र २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्