बुटवल, राजावादीहरूलाई खबरदारी गर्न सत्तारुढ नेकपा एमालेले शुक्रबार बुटवलमा शक्ति प्रदर्शन गर्दै छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवललाई छानिएको हो । देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा एमालेले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जागरण सभा गर्ने र आफ्नो धारणा जनता र कार्यकर्तालाई जानकारी दिने जनाएको छ ।
एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागिएको हो । रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमाले प्रचार विभाग रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रतिगामी गतिविधिका विरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने यो कार्यक्रमको मुख्य उद्देश्य भएको बताइन् । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान चलाइएको र यो प्रदेशमा बुटवलमा गर्न लागिएको उनको भनाइ थियो ।
‘सरकारमा भएको पार्टीले किन सभा गरेको भनेर पनि प्रश्न उठेका छन्, पार्टी सरकारमा भएपनि व्यवस्थाविरुद्ध भएका गलत प्रचारलाई आम नागरिकलाई बुझाउन यो जरुरी छ’ उनले भनिन् ‘काम गर्दा केही कमजोरी भएका पक्कै हुन सक्छन्, त्यसलाई सच्चाउने हो, यो व्यवस्था त्यसै आएको होइन, यसको रक्षा गर्ने सबैको दायित्व हो, गलत प्रचार गर्नेलाई वास्तविकता बताउन र भ्रम चिर्ने मुख्य उद्देश्य हो ।’
सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीसहितको ¥याली निकालिने, त्यसपछि पूर्वमा मुटुअस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा जाने नेकपा एमालेका रुपन्देही उपाध्यक्ष हितराज पन्थिले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्