दुर्गा प्रसाईं भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ

दुर्गा प्रसाईं भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ

तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्‍यो ।

यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ ।

सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गरेको थियो ।

प्रसाईंलाई झापाको गलगिलया नाका हुँदै नेपाल ल्याइएको बताइएको छ । अब उनलाई भद्रपुर विमानस्थलबाट जहाजमा काठमाडौँ ल्याउने तयारी भएको छ ।

उनलाई नेपाल ल्याउन लागिएको खबरपछि शुक्रबार बिहान झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउन लागिएको हो ।

चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । पूर्वराजाको पक्षमा आयोजित प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो । सुवेदीलाई गौरीघाट स्थित घरमै नजरबन्द गरिएको छ ।

प्रसाईँ भने त्यहाँबाट भागेर भारत पुगेका थिए । भारतमा पुगेपछि उनले सामाजिक सञ्जालमा दुईवटा भिडियो सन्देश पोस्ट गरेर आफू नेपालमै भएको तर ‘जोगिएर’ बसेको बताएका थिए ।

प्रसाईँ भारतको आसाम स्थित कांग्रेस आईका एकजना स्थानीय नेताको घरमा लुकेर बसेको प्रहरीका एकजना उच्च अधिकृतले लाई बताए । प्रसाईँ विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाइने प्रहरी अधिकृतहरू बताउँछन् ।

 

 

 

प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij