काठमाडौं , आज ३२ औँ मदन आश्रित स्मृति दिवस मनाइँदै छ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ ३ मदन आश्रित स्मृति दिवस मनाइन्छ।
मदन आश्रितको सम्झनामा नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दै आएको छ। एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यसम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
एमालेले केन्द्रीयस्तरमा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरेको उनले बताए।
एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले समेत कार्यक्रम गरी यो वर्ष मदन आश्रित स्मृति दिवस मनाउँदैछ।
२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो। कास्कीको पोखरामा तय भएको सभामा सम्बोधन गर्न जाँदै दुर्घटना भएको थियो।
दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित थिए। २०६० सालमा लामाको पनि हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्