सिप,सपना, संघर्षको कथा

सुनचाँदीको गहना बनाएर सबिता विश्वकर्मा ले बनाइन् आफ्नो पहिचान

सुनचाँदीको गहना बनाएर सबिता विश्वकर्मा ले बनाइन् आफ्नो पहिचान

तिरस्कृत पेसाबाट सम्मानको इतिहास लेख्दै

 

बुटवल-सबिता विश्वकर्माको जीवनको यात्रा एउटा साधारण गाउँकी युवतीदेखि आत्मनिर्भर उद्यमशील महिलासम्मको प्रेरणादायक कथा हो। उनले बाल्यकालमै गायिका बन्ने ठूलो सपना देखेकी थिइन्। संगीतप्रति मोह थियो, स्वरमा मिठास पनि। तर, जीवन सधैं हाम्रो चाहना अनुसार कहाँ चल्छ ररु पारिवारिक अवस्था कमजोर थियो, जीवन धान्नुपर्ने चुनौतीहरू थिए। यिनै कारणले गर्दा उनलाई आफ्नो बाल्यकालको सपना एकछिनका लागि थन्क्याउनुपर्‍यो।

बुटवल मा बस्दै पढ्ने गर्थिन सोही क्रममा २०६८ सालतिर, उनले बुटवलमा सुनचाँदीको गहना बनाउने सीप सिक्ने अवसर पाइन्। त्यतिबेला उनी समूहमै सबैभन्दा कान्छी थिइन्—तर उमेरले होइन, हिम्मत र जोशले सबैभन्दा अघि थिइन्। उनलाई सुरुमा सीप सिक्न निकै कठिन लाग्थ्यो—साना औजारहरू सम्हाल्ने, डिजाइन मिलाउने, घण्टौंसम्म एउटै काममा लागिरहनु—तर उनी कहिल्यै पछि हटिनन्।

त्यती बेला संगै सिप सिकेकाहरु भने त्यो पेसा अंगाल्न सकेनन् तर आज उनी १२ वर्षदेखि यही पेशामा निरन्तर लागिरहेकी छिन्। बिहान सबेरै उठेर घरको काम सकेपछि उनी सिधा आफूले काम गर्ने पसलमा पुग्छिन्। दिनभर तल्लीन भएर गहना बनाउने काममा व्यस्त हुन्छिन्—कहिलेकाहीँ त समयको पनि होस रहँदैन। धातुलाई आकार दिनु, डिजाइनमा सजीवता ल्याउनु, ग्राहकको मन जित्ने किसिमको सुन्दरता भरिदिनु—यी सबै उनको दैनिक जीवनको हिस्सा बनिसकेका छन्।

पाल्पा पूर्वखोला गाँपालिका काफलडाँडामा जन्मिएकी उनी अहिले बुटवल हाटबजार बुद्धचोकमा बसेर बिगत ९ वर्ष देखि ओम डिएस ज्वेलर्स एण्ड सप्लायर्स बुटवलमा कार्यरत सबिता यस अघि पनि विभिन्न सुनपसलमा काम गरिन्।“   ”

सबिताको मान्यता छ—“काम कुनै पनि सानो वा ठूलो हुँदैन। जसरी मेहनत गर्छौं, त्यही कामले नै पहिचान दिन्छ।” उनको यही सोचले गर्दा आज उनी आफ्नै समुदायमा मात्र होइन, वरपरका समाजमा पनि प्रेरणाको स्रोत बनेकी छिन्। उनको कामको प्रशंसा गर्नेहरू बढ्दै गएका छन्, र त्यो प्रशंसाले उनलाई झनै हौसला र आत्मविश्वास दिन्छ।
गायिका बन्ने सपना त पूरा भएन, उनी भन्छिन्,“ तर सीप सिकेर आत्मनिर्भर बन्ने बाटो भेटेँ।”

तीन महिनाको तालिमपछि उनले बुटवलमै एक सुनचाँदी पसलमा काम गर्न थालिन्। सुरुका दिनहरू सजिला थिएनन्। औजार चलाउन गाह्रो, आँखामा धुलो, हातमा चोट। तर हरेस खाइनन्। मिहिनेत गर्दै गइन्।सबिताले बनाएका गहना बजारमा लोकप्रिय हुन थाले।अहिलेसम्म मेरो बनाएको गहनामा कसैले गुनासो गरेको छैन, उनी मुस्कुराउँदै भन्छिन्,“बरु महिलाले बनाएको काम सफा र राम्रा हुन्छन् भन्ने सुनिन्छ। त्यो सुन्दा मभित्र गर्व भरिन्छ। ”

उनको हातबाट बनेका गहनामा माया, मेहनत र सीपको चमक छ। उनका ग्राहकहरू उनीप्रति विश्वस्त छन्।उनले कानमा लगाउने टप,झुम्का,औंठि।पेन्डल लगायत बंगाली र फेन्सी आइटम बनाउने गछिन् ।

‘सीप नै ठुलो हो’ भन्ने आत्मविश्वास

सबिता अहिले छोराको शिक्षामा आफ्नो सीपबाटै खर्च जुटाउँदैछिन्। आत्मनिर्भर जीवन बाँचिरहेकी छन्। उनी भन्छिन्,“कसैले केही सम्भव छैन भन्छ भने म भन्छु – सीप नै ठुलो कुरा हो। सीप छ भने हरेक असम्भवलाई सम्भव बनाउन सकिन्छ।”
सबिता अहिले आर्थिक रूपमा पनि सशक्त बनेकी छिन्। आफ्नो कमाइले उनले घर खर्च मात्र होइन, छोराको पढाइ खर्च पनि धानेकी छिन्। उनलाई सबैभन्दा ठूलो गर्व त्यहीँ लाग्छ—जब छोराले केही नयाँ सिक्छ, जब उसको भविष्य उज्यालो बन्छ। उनी भन्छिन्,“आफ्नो जीवन त मैले बनाइरहेकी छु, अब छोराको भविष्य उज्यालो बनाउने जिम्मेवारी पनि मेरै हो।”

उनका अनुसार सपना देख्न कहिल्यै छाड्नु हुँदैन। कहिले काँही सपना पुरा गर्ने बाटो फरक हुन सक्छ, तर त्यो बाटो पनि मेहनत र धैर्यले सफल हुन सक्छ। सबिता सुनार, जसले सुनचाँदीको गहना बनाएर आफ्नो जीवनको रूपान्तरण गरिन्, हामी सबैका लागि साहस, संघर्ष र सफलताको ज्वलन्त उदाहरण हुन्।सबिताको कथा केवल गहनाको सुन्दरतामा सीमित छैन। त्यो कथा हो–नारी आत्मनिर्भरताको, सीपको सम्मानको, र जीवनलाई पुनः परिभाषित गर्न सकिने साहसको।उनले बनाएका गहनाहरू ग्राहकको शरीरमा सजिन्छन्, तर उनको संघर्ष भने समयका पानामा अमर रहन्छ।
सबिता विश्वकर्माले जुन संस्थाबाट गहना बनाउने तालिम लिएकी थिइन्, अहिले उनी त्यही संस्थामा प्रशिक्षकको रूपमा पनि काम गरिन्। एक समय तालिम लिन आउने सहभागी थिइन् उनी, आज त्यही ठाउँमा सीप बाँड्ने प्रशिक्षक बनेकी छन्।
तालिम दिने क्रममा उनले आफूले सिकेका सीपहरू मात्र नभई, आत्मविश्वास र आत्मनिर्भरताको भावना पनि सँगै बाँडिरहेकी छन्।

सबिताको कथा एउटा साधारण महिलाबाट प्रेरणादायी प्रशिक्षक बन्ने यात्राको प्रमाण हो। संस्थाले दिएको अवसर, उनको लगनशीलता, र परिवारको साथले उनलाई यो मुकामसम्म पुर्‍याएको हो। भविष्यमा अझ धेरै महिलालाई सीप सिकाएर सक्षम बनाउने उनको योजना छ।

सबिता विश्वकर्माको मेहनत र समर्पणले उनको जीवनको दिशा मात्र बदलेको छैन, उनको सामाजिक पहिचानमा पनि ठूलो परिवर्तन ल्याएको छ। एक समय उनलाई दलित भएकै कारण हेप्ने, उनको सीप र क्षमता नगन्ने मानिसहरू अहिले भने खुलेर प्रशंसा गर्न थालेका छन्।

“पहिला मलाई हेप्थे, मेरो कामलाई तुच्छ ठान्थे” सबिता भन्छिन्, “अहिले त्यही मान्छेहरू भन्छन् – ‘धेरै राम्रो काम गरिरहेकी छ्यौ, गर्व लाग्छ।’”

यो परिवर्तन उनको निरन्तर परिश्रम, सीपप्रतिको निष्ठा र आत्मबलको नतिजा हो।

सबिताको सफलताले देखाउँछ – जब मानिसले आत्मविश्वासका साथ अघि बढ्छ, समाज पनि अन्ततः परिवर्तन हुन थाल्छ। अब उनलाई मात्र होइन, उनको सीपलाई पनि सम्मान गर्न थालिएको छ।
सबिता अहिलेको अवस्थामा आफैं सन्तुष्ट छिन्। यो कामप्रति उनको लगाव र खुसी दुवै देखिन्छ। श्रीमानको माया, बुवा(आमाको साथ र प्रेरणाले उनलाई हरेक दिन नयाँ उत्साह दिन्छ। परिवारको साथले उनी अझै हौसिएर अघि बढिरहेकी छन् ।

 

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij