बुटवल-सुनचाँदी पसलले भरिएको बुटवल उपमहानगरपालिकामा अहिले परिवर्तनको नयाँ लहर चलेको छ। शहरका गल्ली–गल्लीमा रहेका झन्डै १८२ वटा सुनचाँदी पसलहरु अधिकाँस भारतीय कालिगढहरूकै भरमा चलिरहेका छन् । सुनचाँदी पसलमा देखिएको भारतीय कालिगढको परनिर्भता हटाउन कै लागी बुटवल उपमहानगरपालिकाले स्थानीय जनशक्ति उत्पादनको पहल सुरु गरेको छ ।
जसका लागि बुटवल उपमहानगरपालिकाले स्थानीय जनशक्तिलाई गहना बनाउने सीप हस्तान्तरण गर्दै आत्मनिर्भर बनाउने विशेष प्रयास सुरु गरेको छ । जसको सकारात्मक नतिजा देखिन थालेको छ।
बुटवल उपमहानगरपालिकाले गतबर्ष देखि नै बुटवलमा सुनचाँदी व्यवसायी संघको सहकार्यमा गहना निर्माणसम्बन्धी ३ महिने शिप विकास तालिम सञ्चालन गरेको थियो ।
सो तालिममा १६ जना महिला र ४ जना पुरुष, गरी २० जना सहभागी थिए । जसकालागि बुटवल उपमहानगरपालिकाको १० लाख बजेट छुट्याएको थियो भने सुनचाँदी व्यवसायीसंघको ५ लाख लगानी सहित संइुक्त रुप्मा तालिम संचालन गरीएको थियो ।
तीन महिनासम्म सञ्चालित तालिममा सहभागीहरूलाई सुनचाँदी गहना बनाउन त्यसको डिजाइन, कटिङ, जोइनिङ, फिनिसिङ, पोलिसिङ जस्ता व्यवहारिक तालिम दिइएको थियो । यसकालागि दक्ष प्रशिक्षकहरू , आवश्यक औजार र कच्चा पदार्थको व्यवस्थापन गरि मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहारमा पोते, क्रिस्टल र मोतीका माला बुन्ने तालिम प्रदान गरिएको थियो।सामान्यतया धेरै सीप तालिमहरू कागजी प्रमाणपत्रमै सीमित हुने गुनासो हुन्छ। तर यो तालिमबाट केही फरक अनुभव सुनिन थालेका छन्।
तालिम पछि सृष्टि बिक, पुजा सुनार, शान्ती स्वर्णकार,अमृता बिक र अभिजीत रसाइली गरी पाँच जना प्रशिक्षार्थीले बुटवलकै सुनचाँदी पसलहरूमा कालिगढका रूपमा अहिले काम गरिरहेका छन्। उनीहरूको हातबाट बनेका गहनाहरू अहिले बजारमा बिक्री हुन थालेका छन्।
तालिम लिएर अहिले काम गर्दै गरेकी सृष्टि सुनार भन्छिन्, “मैले सोचेकै थिइनँ कि म गहना बनाउन सक्दछु। तर तालिमपछि मेरो सोच नै फेरिएको छ। अहिले म नियमित काम गर्छु, साना–साना गहना बनाउँछु र महिनामा केही रकम कमाउँछु।”
त्यस्तै तालिम लिएकी अमृता बिक पनी आर्थिक रुपमाआत्मनिर्भर जीवन बाँचिरहेकी छन्।उनी भन्छिन्,, “सीप सिकेपछि आत्मविश्वास बढेको छ । पहिले यो पेसा महिलाको होइन भन्ने लाग्थ्यो। अहिले हामी पनि सक्छौं भन्ने वागेको छ र गहना बनाएर जिविको पार्जन गरिरहेकी छु” उनले भनीन ।
महिलाको सहभागिता र उत्कृष्टता
तालिममा महिलाहरूको सहभागिता मात्र होइन, उनीहरूको सीपमा देखिएको लगावले पनि कार्यक्रमलाई सफल बनाएको छ।
बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोकुल विश्वकर्मा भन्छन्, “महिलाहरूले फिनिसिङमा ध्यान दिन्छन्, धैर्यका साथ काम गर्छन्। यही कारणले उनीहरूबाट बनेका गहनाहरू पनि बढी आकर्षक देखिन्छन्। यस्ता महिलाहरू बढेमा बुटवलमै स्थानीय गहना उत्पादनको सम्भावना बलियो हुन्छ।”
उनको भनाइमा, भारतीय कालिगढप्रतिको निर्भरता घटाउने प्रयासको पहिलो खुड्किलो सफल देखिएको छ। तर, तालिमको अवधि छोटो भएकाले सबै प्रशिक्षार्थी तत्काल काममा संलग्न हुन नसकेकेको उनले बताए । २० जना मध्ये अहिले केवल ५ जना मात्र रोजगारीमा छन्, बाँकीले अझ अभ्यासको आवश्यकता महसुस गरिरहेका छन्’ उनले भने ।
सीपको प्रभाव — व्यक्तिगत जीवनदेखि सामाजिक रूपान्तरणसम्म
महिला र युवाहरुलाई सुनचाँदीको गहना बनाउने कालिगड तालिम रोजगारी पाउनु मात्रै उपलब्धि होइन, यसले उनीहरूको जीवनशैली, आत्मविश्वास, निर्णय क्षमतामा पनि सकारात्मक असर पारेको छ।
त्यसको उदाहरण हुन पुजा सुनार। उनी भन्छिन “हामी पहिले घरभित्र सीमित थियौं। यो तालिमले बाहिर निस्कने, नयाँ कुरा सिक्ने र आफ्नो हातबाट केही बनाउन सक्ने बाटो देखायो।” हामी आत्मनिर्भर हुन सिकेका छौ ।आफ्नो लागी पनि केहि कमाउन सक्ने भएका छौं।
तालिम लिएर अहिले काम गरिरहेकी शान्ती स्वर्णकार, भन्छिन्, “कामबाट आएको सानो कमाइ पनि ठूलो ऊर्जा हो। यसले मलाई मेरो भविष्य आफ्नै बलबुतामा बनाउने सपना देख्न प्रेरित गरेको छ।”
यो कार्यक्रमको सफलताले धेरै सम्भावनाहरू देखाएको उनले बताइन । तर तालिमको अवधि छोटो भएकाले सिकाई प्रयाप्त गर्न असमर्थ भएकोले तालिमको अवधि ६ महिनामा पुर्याउन सके सिकाई प्रभावकारी हुने अभिजित रसाइलीले बताए । बुटवलले यो कार्यक्रममार्फत देखाएको परिवर्तन कुनै ठूला योजनाबाट मात्र होइन,साना प्रयास, समुदायको सहभागिता र महिलाको अग्रसरताबाट पनि सम्भव हुन्छ भन्ने देखाएको छ ।
गहना बनाउने काम अब केवल ‘विदेशी’का हातले गरिने काम होइन,बुटवलकी सृष्टि बिक, पुजा सुनार, शान्ती स्वर्णकार,अमृता बिक र अभिजीत रसाइलीजस्ता युवाहरूका हातले बनाइएका गहनाहरूले भोलिको बुटवललाई — आत्मनिर्भर, सीपयुक्त र सशक्त शहरका रूपमा चिनाउनेछन् ।
तीन महिनाको तालिमले सकारात्मक संकेत देखाएको सन्देश दिन्छ, सानो प्रयासले ठूलो असर देखाएको छ ।
यदि स्थानिय तहले चाहेर, व्यवसायी समुदायले साथ दिएर, र समुदायले चासो देखाएर यस्तो कार्यक्रम विस्तार गर्यो भने,विदेशी श्रममा निर्भरता घटाउन सकिने यस कार्यले देखाएको बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले बताए। ।
महिलाको सशक्तीकरण प्राविधिक क्षेत्रमा हुन सक्छ,र स्थानीय उद्योगहरू आत्मनिर्भर बन्न सक्छन्। तर व्यवसायिक रूपमा अझ दक्ष र प्रतिस्पर्धी बनाउन अब एडभान्स (उन्नत) तालिम सञ्चालनको आवश्यकता देखिएको छ। कार्यपालिका सदस्य कृष्ण बरालका अनुसार, “यो पेसामा पूर्ण दक्ष हुन कम्तीमा ३ देखि ४ वर्ष लाग्छ। अब सञ्चालन गरिने तालिम एडभान्स लेबलको हुनेछ, जसमा बजारमा कस्तो प्रकारको सुनचाँदी गहना डिजाइनको माग छ भन्ने कुरालाई आधार बनाएर प्रशिक्षण दिइनेछ। यसले सहभागीहरूलाई दक्ष बनाउँदै पूर्ण रूपमा व्यवसायिक बनाउने लक्ष्य राखिएको छ,” उनले बताए।
नगरप्रमुख खेलराज पाण्डे यो अभ्यासप्रति उत्साहित छन्। उनी भन्छन्,
“महिलाहरूले तालिम लिएर सुनचाँदीको क्षेत्रमा काम गर्न थालेका छन्। उनीहरूको आम्दानी पनि हुन थालेको छ। यो आफैँमा नगरको एक सकारात्मक अभ्यास हो। हामी महिलालाई आत्मनिर्भर बनाउने अभियानमा प्रतिबद्ध छौं।” ।
नगरप्रमुख खेलराज पाण्डेका अनुसार, विदेशी कालिगढहरूमा निर्भर रहने प्रवृत्तिलाई घटाउँदै, बुटवलमै दक्ष जनशक्ति उत्पादन गर्ने यो पहलले राम्रो परिणाम देखाएको छ।
“हामीले देख्यौं, यदि तालिममार्फत अवसर दिन सकियो भने हाम्रो स्थानीय समुदाय आफैँ सक्षम बन्न सक्छ। महिलाको सशक्तीकरण प्राविधिक क्षेत्रमा पनि सम्भव छ भन्ने उदाहरण हो यो,” उनले भने।
यो अभ्यासले नगरको नेतृत्व, व्यवसायीहरूको सहकार्य, र समुदायको सहभागिता मिलेमा सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।
उनका अनुसार महिलाहरु सीपसँग जोडिने आत्मनिर्भर हुने र बाह्य कालीगढहरु बिस्पथापित हुने र यहाँका युवाहरु स्वरोजगार हुने भएकोले यस्तो कार्यक्रमको आयोजना भएको हो । नगरप्रमुख पाण्डे भन्छन्, “नगरपालिकाले पहिलो पटक २० जनालाई प्रारम्भिक चरणमा राखेर तालिम दियौ फलस्वरुप दिदिबहीनी अहिले काममा लाग्नुभएको छ ।यो तालिम पछि थप तालिमको पनि माग भएको छ । भोलिका दिनमा व्यवसायीको चासो अग्रसरता र आवश्यकताको आधारमा थप तालिमको कक्षा सन्चालन गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेछौ , त्यही अनुसार संख्या वृद्धि हुदै जानेछ ।”
बुटवल उपमहानगरपालिकाले नगरलाई महिलामैत्री उपमहानगरपालिकाको रूपमा स्थापित गराउने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन , २०७४ को दफा १०२ को ९२० बमोजिम उपप्रमुख उद्यमशीलता कार्यक्रम सञ्चालन कार्यविधि २०७५ भनी जारी गरेको छ । यसरी कार्यविधि नै जारी गरी नगरले विभिन्न समयमा विभिन्न तालिम र कार्यक्रम सञ्चालन गरेको छ ।
त्यस्तै आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसङ्ख्यक, लोपोन्मुख समुदाय, असहाय, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत समाजमा पछाडि पारिएका व्यक्ति वा समुदायलाई मूल प्रवाहमा ल्याउने गरी क्षमता विकासको कार्यक्रम तय गरेको उपप्रमुख सावित्रा देवी अर्यालले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्