चुनौती बन्दै छ बुटवलको फोहोर व्यवस्थापन 

चुनौती बन्दै छ बुटवलको फोहोर व्यवस्थापन 

बुटवल ,
लुम्बिनी प्रदेशकै प्रमुख सहर बनिरहेको बुटवलमा फोहोर व्यवस्थापनको काम चुनौती पूर्ण बनिरहेको छ ।
समुदाय तथा विभिन्न संघसंस्था सँगको साझेदारीमा उपमहानगरपालिकाले हाल नगरको फोहोर मैला व्यवस्थापन गर्दै आएको छ ।बुटवल उपमहानगरपालिकामा १९ वडा रहेका छन् । २०७८ सालको जनगणना अनुसार १ लाख ९४ हजार
जनसङ्ख्या रहेको बुटवलमा ३४ हजार ९४ घरधुरी छन् । यति ठुलो जनसङ्ख्याको दैनिक जनजीवन, व्यापार व्यवसाय र आवासीय क्षेत्रबाट निस्किने फोहोरको व्यवस्थापन बुटवल उपमहानगरपालिकाको निकै चुनौतीपूर्ण बनिरहेको छ ।

फोहोर व्यवस्थापन गर्ने निश्चित स्थान नहुँदा तिनाउ नदि को उकास क्षेत्र नै फोहोर व्यवस्थापन गर्ने स्थान बनेको छ ।
उपमहानगरपालिका क्षेत्रभित्र अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुन्छ । उपमहानगरपालिकाका सरसफाइ
तथा फोहोर व्यवस्थापन शाखाका अधिकृत ठगिस्वर पोखरेलका अनुसार ग्रामीण क्षेत्रबाट निस्किने कुहिने फोहोरलाई गाईबस्तुको मलसँगै प्रयोग गर्ने गरिए पनि बजार क्षेत्रबाट निस्किने फोहोर भने सबै व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।पोखरेलका अनुसार बुटवलमा दैनिक निस्किने ७५ टन फोहोरमध्ये ६४ प्रतिशत जैविक अर्थात् कुहिने हुन्छ भने ३६ प्रतिशत अजैविक अर्थात् नकुहिने फोहोर हुने गरेको छ । अजैविक फोहोरभित्र पुनः प्रयोग गर्न सकिने २८
प्रतिशत र पुनः प्रयोग गर्न नसकिने वस्तु ८ प्रतिशत मात्र हुने गर्छ ।
तर सर्वसाधारणले घरबाटै कुहिने र नकुहिने तथा पुनः प्रयोग गर्न मिल्ने वस्तु अलग अलग बनाएर नराख्दा व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको पोखरेल बताउनुहुन्छ ।बुटवलले ३० वर्ष अघिदेखि फोहोर व्यवस्थापनको संस्थागत पहल गरेको भए पनि दिगो समाधान हुन सकेको छैन । पहिलो पटक २०५२ सालदेखि संस्थागत रूपमा फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । उति
बेला हालको अटो भिलेज रहेको मैना बगर क्षेत्रमा फोहोर लगेर थुपार्ने र माथी बाट माटोले पुर्ने गर्दै जाँदा खाली रहेको क्षेत्र तिन वर्षमै भरियो ।तीन वर्षसम्म थुपारिएको फोहोरले पछि मैना बगरको दक्षिण क्षेत्रमा जग्गा उकासियो । पछि ०५६ सालमा मैना बगरमा अटो भिलेज बनाउने योजना ल्याएपछि उपमहानगरपालिकाले तिनाउ खोलाको पूर्वतर्फ फोहोर थुपार्न थालेको हो । अहिले बस्ती सुकुम्वासीका बाक्लो बसेका क्षेत्रहरू खयर घारी, पवित्र नगर, सुन्दर नगर,मजुवा, टप मजुवा, हात्तिसुँढ लगायत एक दर्जन बस्तीहरू फोहोर थुपार्दै जाँदा उकासिएका क्षेत्र हुन् ।
बुटवल उपमहानगरपालिकाले दिगो रूपमा फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधनको प्रयास नगरेको पनि होइन । तर, नगर बासीको असहयोग तथा राजनीतिक दाउपेचका कारण सफल हुन सकेनन् । २०५७ सालमा एसियाली विकास बैङ्क ‘एडिबी’ सँगको २८ करोड ऋण सहयोगमा फोहोर प्रशोधन केन्द्र निर्माणका
लागि सम्झौता भएको थियो ।एडिबीसँगको सम्झौता अनुसार फोहोर प्रशोधन केन्द्र निर्माणका लागि निर्माण कम्पनीसँग २५ करोड ६२ लाख ५३ हजार ५ सय ८४ रुपैयाँमा ठेक्का सम्झौता गरी समेत गरे पनि काम हुन सकेन ।ठेक्का सम्झौता गर्दा उपमहानगरपालिकाले जितेश्वरी सामुदायिक बन क्षेत्रमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाएको थियो । त्यहाँका स्थानीयले सामुदायिक वन क्षेत्रमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न अवरोध गरेपछि योजनालाई देविनगरमा सारियो । देविनगरमा पनि विरोध भएपछि देवदह नगरपालिकाको सिमाना
जोडिएको शिवनगर सामुदायिक वन क्षेत्रमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने भनिएको थियो ।शिवनगर सामुदायिक वन क्षेत्रमा ४ सय ८४ हेक्टर क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने गरी योजना तयार भए पनि दुई वटा नगरपालिकाबिच समन्वयको कमी र अस्तित्वको लडाइँका कारण सफल हुन सकेन । अन्तत

अन्ततःसम्झौता भएको आठ वर्षसम्म पनि जग्गा अभावमै फोहोर प्रशोधन केन्द्रको परियोजनाको लागिए एडिबीले

उपमहानगरपालिकासँग भएको सम्झौताबाट हात झिक्यो ।
स्थानीयको अवरोध, राजनीतिक दाउपेच तथा छिमेकी पालिकासँग समन्वयको कमीका कारण फोहोर प्रशोधन केन्द्रका लागि एडिबीसँग गरिएको सम्झौता तोडिएको एक दशक बढी वर्ष बिते पनि बुटवलले फोहोरको दिगो व्यवस्थापनको लागि निकास निकाल्न सकेको छैन ।पछिल्लो समय सैनामैना नगरपालिकासँग मिलेर सैनामैनाकै वन क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि
अहिले पनि बुटवलबाट सङ्कलन गरिएको फोहोर बस्तीसँगै जोडिएको तिनाउ नदी किनारमै थुपार्ने गरिएको छ।
अहिले फोहोर व्यवस्थापन भन्दा पनि घरबाट निस्किएको फोहोरलाई सङ्कलन गरी तिनाउ नदी किनारमा
लगेर थुपार्ने गरिएको छ । त्यहाँ फालिएको फोहोरको दुर्गन्धबाट स्थानीय बासिन्दा र विद्यालयका बालबालिका पीडित छन् ।
उपमहानगरपालिकाले अहिले केही वडाहरूमा आफैले त केही वडाहरूमा निजी क्षेत्र, सहकारी संस्था र टोल
विकास समितिहरूसँग मिलेर फोहोर मैला व्यवस्थापन गर्दै आएको छ । वडा नं। १४ देखि १९ सम्मको फोहोर व्यवस्थापन उपमहानगरपालिका आफैले गरिरहेको छ ।
हाल उपमहानगरपालिकासँग फोहोर सङ्कलन र व्यवस्थापनका लागि १ थान चेन एक्स्काभेटर, १ थान ट्याक्टर भ्याकु, २ थान टिपर, ३ थान ट्याक्टर, १ थान पानी ट्याङ्कर र १ थान कम्प्याक्टर मात्र रहेका छन् ।जनशक्तिमा पनि १ जना शाखा प्रमुख, १ जना सुपरभाइजर, ९ जना चालक र ३० जना सरसफाइकर्मी गरी
जम्मा ४१ जना कार्यरत छन् ।फोहोर व्यवस्थापनमा संलग्न संस्थाहरू निजी, सहकारी र उपभोक्ता समितिबाट थप १ सय जना जनशक्ति परिचालित छन् तर, यो सङ्ख्या तथा स्रोत बुटवल उपमहानगरपालिकाका लागि पर्याप्त नरहेको पोखरेलले
बताउनुभयो ।बुटवल उपमहानगरपालिकाका उप–प्रमुख साबित्रा देवी अर्यालले बुटवलले अझै पनि पूर्ण रूपमा फोहोर
व्यवस्थापन गर्न नसकेको स्वीकार गर्नुहुन्छ । ‘हामीले सोचेजस्तो सफा बुटवल बन्न सकेको छैन। रातीको समयमा घरभित्रबाट ल्याएर खोलामा र सडकमा फोहोर फाल्ने प्रवृत्ति अझै कायम छ । यसलाई व्यवस्थापन गर्न जनचेतना आवश्यक छ,’ उपप्रमुख अर्यालले भन्नुभयो ।अर्यालका अनुसार उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम‘युएनडिपी’ सँग सहकार्यको तयारी गरिरहेको छ । सो सम्झौताअन्तर्गत फोहोर वर्गीकरणदेखि अन्तिम
प्रशोधनसम्मको सम्पूर्ण जिम्मेवारी लिने विषयमा छलफल भइरहेको अर्यालले बताउनुभयो ।‘घर मात्र सफा बनाएर हुँदैन, वातावरण सफा भए मात्र हामी स्वस्थ रहन सक्छौँ, उप–प्रमुख अर्यालको भनाइ छ । उहाँले थप्नुभयो, ‘जनताको असहयोग र सडकमा छाडिने फोहोर हावाले उडाउँदा थप समस्या हुने गरेको
छ,’।बुटवल उपमहानगरपालिकाका वडाहरूमा कार्यरत विभिन्न संस्था र सहकारीहरूले पनि सर सफाइमा भूमिका खेलेका छन् । वातावरणीय सुन्दर नेपाल प्रा।लि। का अध्यक्ष कृष्णमाया कार्कीका अनुसार प्रालिले वडा नम्बर १देखि ६ तथा १२ र १३ नं। वडाबाट फोहोर सङ्कलन गरिरहेको छ । तर, फोहोर व्यवस्थापनका लागि
कर्मचारी अभाव प्रमुख समस्या हुने गरेको कार्कीले बताउनुभयो ।
श्री देविनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाले पनि फोहोर व्यवस्थापनको काममा उपमहानगरपालिकालाई सघाउँदै आएको  छ। संस्थाका अध्यक्ष भुमेश्वर खत्रीका अनुसार २०७५ सालदेखि बुटवल–११ मा फोहोर मैला व्यवस्थापन गर्दै आएको छ । ‘हामीले सदस्यहरूको हितका लागि सञ्चालन गरेको
सहकारी संस्थामार्फत फोहोर मैला व्यवस्थापनको काम पनि गर्दै आएका छौँ, महिनामा २० दिन सदस्यहरूको घर–घरमा पुगेर फोहोर उठाउने काम गरिरहेका छौँ,’ खत्रीले भन्नुभयो ।

संस्थाले नियमित रूपमा टोल समिति, समुदाय र सरोकारवाला मिलेर सरसफाइ अभियान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ३ जना सरसफाइ कर्मी र १ जना चालक सहित ४ जनाको टोलीले सेवा दिइरहेको उहाँले बताउनुभयो ।

बुटवल–१७ मा रहेको श्री शान्ति दीप खानेपानी विकास निर्माण तथा वातावरण सरसफाइ उपभोक्ता समितिले विगत ३ वर्षदेखि वातावरण सरसफाइ गर्दै आइरहेको छ । यस समितिले स्थानीय क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्दै जनचेतना अभिवृद्धिमा समेत सक्रियता देखाउँदै आएको छ ।अव्यवस्थित बसोबासी भएको कारण यहाँ फोहोर मैला व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । संस्थाका अध्यक्ष गोपाल श्रेष्ठका अनुसार पहिलेजस्तो सामुदायिक बन, खाली जग्गा, बाटोको किनार तथा तिनाउ नदिमा
आफैले लगेर फाल्ने र जथाभावी फोहोर जलाउने समस्यामा कमी आएको छ । तर फोहोर व्यवस्थापन बापत
मासिक उठाइने ५० रुपैयाँ महँगो भयो भन्दै फोहोर नदिनेहरूका कारण समस्या हुने गरेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij