काठमाडौं । भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा साउनको तुलनामा भदोमा ब्याजदर घटेको हो।
साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०।११ प्रतिशत विन्दुले घटेको छ ।
साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५।६८ प्रतिशत रहेकोमा भदौ महिनाको लागि यो ५।५७ प्रतिशतमा कायम भएको छ ।
साउनको तुलनामा भदौमा ८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई छन् ।
११ बैंकले ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । स्थिर राख्नेमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंक छन् । एउटा बैंक प्रभुले भने बढाएको छ ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ ।
यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दवाव दिएपछि साउनमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४।५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २।७५ प्रतिशत छ ।
असार महिनामा भएको उच्च पूँजीगत खर्चले निक्षेप बढ्नु तर कर्जा प्रवाहमा सुस्तता कायमै रहेपछि बैंकहरुले भदौमा पनि ब्याजदर घटाएका हुन् ।
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्