काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागको घोषणा गरेका हुन् ।
बैठकले मौजुदा केन्द्रीय समिति भंग गर्दै उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए । उनका अनुसार महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल जारी छ ।
प्रवक्ता शर्माले भट्टराईले राजीनामा नभई पद त्याग गरेको स्पष्ट पारेका छन् । “अध्यक्ष भट्टराईले राजीनामा दिनुभएको होइन, पद त्याग गर्नुभएको हो,” शर्माले भने, “महाधिवेशनको मिति भने अहिले तय भएको छैन ।”
भट्टराई २०७९ सालमा पुनर्गठित नेपाल समाजवादी पार्टीको नेतृत्वमा निर्वाचित भएका थिए । यसअघि नेसपामा विभाजन भएपछि गत माघमा सम्पन्न महाधिवेशनबाट उनी अध्यक्ष बनेका थिए ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भट्टराईसमेत निशानामा परेका थिए । प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगजनी गरी ध्वस्त पारेका थिए । तर उनले जेनजी आन्दोलनले उठाएका मागलाई समर्थन जनाउँदै आएका छन् ।
राजनीतिक दलहरूको नेतृत्वमाथि बढ्दो दबाबबीच भट्टराईले नैतिक जिम्मेवारीका आधारमा पद त्याग गरेको देखिन्छ ।
डा. भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यसहित २०७३ साल जेठ ३० गते दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल घोषणा गरेका थिए । उनले अघि सारेको पाँच ‘स’—स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजवाद—लाई आफ्नो राजनीतिक कार्यदिशाको आधार बनाएका थिए ।
तर २०७४ सालको निर्वाचनमा नयाँ शक्ति असफल भएपछि उनले पार्टीलाई उपेन्द्र यादव र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग विलय गराएका थिए । त्यसपछि जसपा हुँदै २०७९ सालमा नेपाल समाजवादी पार्टी पुनर्गठन गरिएको हो ।
२०७९ पछि भट्टराई नेतृत्वको नेसपा माओवादी केन्द्रसँग एकताको विषयमा तत्कालीन अध्यक्ष महिन्द्र राय यादवसँग मतभेद भएपछि २०८० चैतमा फेरि विभाजनमा गएको थियो ।
प्रकाशित मिति : बुधबार, असोज ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्