नवमीको दिन बीपी राजमार्ग निरीक्षणमा पुगे कुलमान

नवमीको दिन बीपी राजमार्ग निरीक्षणमा पुगे कुलमान

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुन:निर्माणबारे नवमीको दिन बुधबार निरीक्षण गरेका छन् ।

चाडपर्वमा यात्रुहरुलाई वीपी राजमार्गबाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पुर्‍याएको क्षति पश्चातको पुन: निर्माणको अवस्थाबारे बुझ्न चाडपर्वको बीचमा मन्त्री घिसिङ स्वयम् सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीहरु सहित फिल्डमा खटिएका छन् ।

संघीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्नको लागि महत्वपूर्ण रहेको उक्त बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाइको वीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई अब बन्ने क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाइने छ ।

मन्त्री घिसिङले चाडपर्वमा काठमाण्डौ आवतजावत गर्ने यात्रुहरुले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थायी रुपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रुपमा भइरहेको राजमार्ग पुनर्निर्माण कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिए ।

गत साल असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । बाँकी रहेको खण्ड भने जाइकाले अनुदान सहयोगमा बनाईदिने भएको छ ।

मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताए । बाढीले क्षतिग्रस्त राजमार्गको अवलोकन गर्दै घिसिङले पूर्वी नेपाल र तराईलाई काठमाडौंसँग जोड्ने छोटो सडकको रुपमा रहेको बीपी राजमार्गलाई जति सक्यो छिटो पुनर्निर्माण गर्न तयारी अघि बढिसकेको जानकारी दिए । उनले गत वर्षको असोजमा रोशी खोलाको बाढीले क्षति पु‍र्‍याएको सडकखण्ड पुनर्निर्माणको लागि अहिले ठेक्काका काम भइरहेको पनि बताए ।

‘नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ भने जाइकाको सहयोगमा निर्माण हुने साढे २ किलोमिटरको टेन्डर हुने क्रममा रहेको छ । दशैं–तिहारपछि काम तीव्र गतिमा सुरू गर्नेगरी तयारी भइरहेको छ । छिटो भन्दा छिटो काम गरेर सडकलाई पहिलेकै अवस्थामा ल्याउन सबै खालका सहयोग र समन्वयका काम गरिरहेका छौं,’ मन्त्री घिसिङले भने ।

दशैंलगत्तै बाहिरी जिल्लाबाट काठमाडौं फर्कने गाडीको संख्या निकै धेरै हुने भएकाले उक्त समयमा जाम नहोस् भनेर उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको उनले बताए ।

यस्तै, अबको केही दिनपछि नेपालमा भारी वर्षाको पूर्वानुमान भएकाले सुरक्षित हिसाबले यात्रा गर्न मन्त्री घिसिङले आग्रह गरे ।

प्रकाशित मिति : बुधबार, असोज १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij