पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

काठमाण्डौ – पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या परेको छ । गएको असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीमा रहेको मितेरी पुल बगाएपछि केरुङ नाका बन्द छ ।

व्यापारीहरूले दशैँ, तिहार लगायतका चाडपर्वलाई केन्द्रित गरेर ल्याएका लत्ताकपडा तथा अन्य सामग्री पाँच महिनादेखि नाकामै अलपत्र अवस्थामा रहेको छ । केरुङ नाकामा झन्डै दुई सय कन्टेनर सामान थन्किएको राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ बताउनुभयो ।

सिन्धुपाल्चोकको तातोपानी नाका अहिले फाट्टफुट्ट मात्रै सञ्चालनमा छ । वर्षाका कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको नाका तिहारपछि राम्रोसँग सञ्चालनमा आएको हो ।

केरुङ नाका बन्द र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीहरूले महँगो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयात गर्नुपरेको सङ्घका पूर्वअध्यक्ष श्रेष्ठको भनाइ छ ।

कोरोला नाकाबाट सामान ढुवानी गर्ने गाडीका लागि दैनिक चाररपाँच वटाको मात्रै चीन प्रवेशको पास उपलब्ध भइरहेको व्यापारीहरूको गुनासो छ । कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाण्डौ ल्याउनुपर्ने बाध्यता छ । अहिले चिसोका कारण कोरोला नाका पनि बन्द छ ।

चीनबाट सामान आयातका लागि केरुङ नाका सक्दो चाँडो खोल्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले बताउनुभयो ।

चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, गाडीको पार्ट्स लगायत आयात हुँदै आएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij