बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर प्रमुख छात्रवृत्ति वितरण गर्नुको साथैं उत्कृष्ट विद्यार्थी, विद्यालय र सामुदायिक विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरेको छ । नगरपालिकाले यस पटक नगर प्रमुख छात्रवृत्ति १४६ जना विद्यार्थीलाई प्रदान गरेको छ ।
नगर प्रमुख रामकृष्ण खाणको पारिश्रमिक समेत जम्मा हुने नगर प्रमुख छात्रवृत्ति अक्षयकोषबाट जनही पाँच हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा शाखाले जनाएको छ ।
यस्तै नगरपालिकाले २०७४ साउन १ देखि २०८२ असार मसान्तसम्म नगरका सामुदायिक विद्यालयबाट स्वच्छिक तथा अनिवार्य अवकाश प्राप्त ७६ जना शिक्षकलाई सम्मान गरेको हो ।
यस्तै कक्षा ८ र कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका छात्र(छात्रा र विद्यालयलाई पनि नगरपालिकाले सम्मान गरेको छ ।
नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने ९ जना विद्यार्थीलाई नगद दश हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो । नगरपालिकाले यसअघि नैं एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिसकेकोमा सोमबार कक्षा ८ र १२ मा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भनेर आफ्नो पारिश्रमिकबाट छात्रवृत्तिमा उपलब्ध गराएको बताउनुभयो ।
शिक्षित व्यक्तिले मात्र सभ्य, सुसंस्कृत समाज निर्माण गर्ने बताउँदै नगर प्रमुख खाणले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पालिका सधैं प्रयन्तरत रहेको बताउनुभयो ।
यस्तै नगर उपप्रमुख जागेश्वरी चौधरीले छात्रवृत्तिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलगायतका सरोकारवालाहरुले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गरिने बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरको समग्र शैक्षिक अवस्था सुधारका लागि पालिका दत्तचित्त भएर लागेको उल्लेख गर्दै यसमा सबैको साथ र सहकार्य अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति : सोमबार, मंसिर ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्