वैध कारोबार गर्ने उद्योगी–व्यवसायीले पनि दुःख पाएका थुप्रै उदाहरण छन्’

वैध कारोबार गर्ने उद्योगी–व्यवसायीले पनि दुःख पाएका थुप्रै उदाहरण छन्’

भैरहवा, वैध तरिकाले कारोबार गर्नेहरु पनि राजस्व अनुसन्धान, भन्सार कार्यालय लगायत विभिन्न सरकारी निकायबाट दुःख पाएको उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले नियमसंगत काम गर्ने व्यवसायीलाई अफ्ठयारो पार्न नहुनेमा जोड दिएका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरुले कतिपय अवस्थामा कर्मचारीको गल्तीका कारण पनि उद्योगी–व्यवसायीले दुःख पाएको बताए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले उद्योगी–व्यवसायीका मर्का सरकारी निकायले बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले रुपन्देहीबाट लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा खाद्यान्नलगायत सामग्री आपूर्ति हुने भएकाले एउटै गाडीमा धेरै व्यवसायिक प्रतिष्ठानका सामान पठाउने गरिएको बताउनुभयो । त्यसरी पठाउँदा कसैले त्यस्ता गाडीमा भन्सार छलीका सामान राखेको भए सम्बन्धित व्यक्तिलाई मात्र कारवाही गर्न र गाडी फिर्ता गरिदिन उहाँले आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ५२ प्रतिशत हिस्सा अनौपचारिक अर्थतन्त्रमा बिलिन भएको सुनिएको बताउनुभयो । उहाँले सरकारी निकाय र निजी क्षेत्रबीच साझेदारी र सहकार्य हुन पाए धेरै समस्याको समाधान हुने बताउनुभयो । नियत सफा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले सीमा नाकामा पर्यटकलाई दिनुपर्ने सेवा प्रदान हुन नसकेको बताउनुभयो । उहाँले एकीकृत भन्सार जाँच चौकी आईसीपी लाई जतिसक्दो छिटो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले नीतिनियममा रहेर नियमसंगत कारोबार गर्ने व्यवसायीलाई पनि समस्या भएको बताउनुभयो । निजी क्षेत्रले गलत कुराको ढाकछोप गर्दैन, ’उहाँले भन्नुभयो–‘नियमसंगत काम गर्ने व्यवसायीलाई अफ्ठयारो पार्नुहुँदैन ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठले कर्मचारीले गलत गर्दा उद्योगी–व्यवसायीले दुःख पाउनुपरेको बताउनुभयो । उहाँले त्यसको उदाहरण उपभोग नै नगरेको विद्युत ट्रकलाईन र डेडिकेटेड लाईन भनेर उद्योगीलाई महशुल तिराउन खोजिएको बताउनुभयो ।

संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रहरीले नियन्त्रणमा लिएर पठाएका गाडी राजस्व अनुसन्धान कार्यालयले मुद्दा चलाउनुपर्छ भन्ने मानसिकता रहेको बताउनुभयो । उहाँले वैध तरिकाले व्यवसाय गरिरहेका उद्योगी–व्यवसायीले पनि दुःख पाएका थुप्रै उदाहरण रहेको बताउनुभयो । उहाँले भीसीटिएसको सर्भर नचलेर लोड भएका गाडी ३–४ घण्टा होल्ड गर्नुपर्दा दुःख पाइएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपानेले कतिपय खाद्यान्न र लत्ताकपडा जस्ता अत्यावश्यक वस्तुमा भन्सार मूल्य कम भए उपभोक्तालाई स्वदेशी बजारमै रोक्न सकिने बताउनुभयो । उहाँले भन्सार क्षेत्रमै राम्रोसँग चेकजाँच गरिए व्यवसायीले दुःख पाउने अवस्था नरहने बताउनुभयो ।

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ताले जेनजी आन्दोलनपछि प्रशासनिक निकायको शैली फरक देखिएको बताउनुभयो ।

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अध्यक्ष मञ्जु भुसालले जेनजी आन्दोलनपछि केही परिवर्तनको अनुभुति भएको बताउनुभयो ।

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राधेश्याम दाहालले कुनै पनि व्यवसायीलाई दुःख दिने कार्यालयको नियत नरहेको बताउनुभयो । उहाँले नराम्रो काम गर्ने र राजस्व चुहावट गर्नेलाई संरक्षण गर्न नसकिने बताउनुभयो । ‘जसले राम्रो व्यवसाय गर्छ, बीलबिजक जारी गर्छ र राजस्व दाखिला गर्छ, त्यस्ता उद्योगी–व्यवसायीलाई दुःख दिने हाम्रो नियत छैन’उहाँले भन्नुयो‘ अर्थमन्त्रीज्यूले पनि व्यवसायीमैत्री बन्न र राम्रा व्यवसायीलाई दुःख नदिन हामीलाई स्पष्ट निर्देशन दिनुभएको छ ।’

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले आईसीपी निर्माण भएपछि ट्राफिक व्यवस्थापन राम्रो हुने बताउनुभयो । उहाँले भन्सार राजस्वसँग मात्र नभइ आपूर्तिसँग पनि सरोकार राख्ने बताउनुभयो । पौडेलले सीमा नाकामा बसेपछि धेरै व्यवहारिक बन्न जरुरी रहेको बताउनुभयो । व्यवसायीले तस्करीबाट आउने सामान खरिद नगरे धेरै कुराको समाधान हुने उहाँको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij