ईश्वरीप्रसाद पोख्रेल
म भन्छु, म त यो धर्तीको मान्छे !
मजस्ता अरुले पनि भन्छन् होला ,
त्यो त मान्छे हो ।
उसले मेरो बारेमा भन्छ :
ऊ मान्छेजस्तो छ ।
मेरा कानले सुने
म मान्छेजस्तो छु रे !
हो र म मान्छेजस्तो , प्रश्न गरेँ ?
मैले मलाई गहिरिएर हेरेँ स बुझेँ साँच्चै मान्छे हुँ कि होइन ?
उसैले जानोस् ।
यो त मान्छेले मान्छे
भनेको हो
अरु प्राणीले दिएको नाम होइन !
म को हुँ ?
म के हुँ ?
मलाई थाहा छैन ।
ठिक छ,
म जे छु ,जस्तो हूँ
जस्तोसुकै हुँ
बगिरहेको खोलालाई कुनै सरोकार छैन ।
म पढूँ वा नपढूँ
म उत्तीर्ण हूँ वा नहूँ
म जागिर खाऊँ वा नखाऊँ
उडिरहेका चराहरूलाई कुनै सरोकार छैन ।
बिहान उदाउने र साँझ अस्ताउने सूर्यलाई के मतलब ?
म सभापति, अध्यक्ष हूँ वा नहूँ,
म प्रधानमन्त्री हूँ वा राष्ट्रपति
राजा हूँ वा प्रजा,
आकाशलाई के मतलब ?
म प्रोफेसर हूँ वा विषयविज्ञ
म धनी बनूँ वा सुदामाजस्तै गरिब
ती अन्तरिक्षका ताराहरूलाई के फरक पर्छ ?
म रोगी हूँ वा निरोगी
म डाक्टर हूँ वा बिरामी
अनन्त गतिशील समयलाई के फरक पर्छ ?
म बैंक म्यानेजर बनूँ वा रिसेप्सनिस्ट
म मुख्य सचिव , उपकुलपति बनूँ वा कारिन्दा ,
म प्रधान सेनापती बनूँ वा सिपाही
नदीका माछाहरू अन्तरिक्ष यात्री बन्ने होइनन् !
म एम ।डि गरेको सुइ लगाउने डाक्टर बनूँ वा पि .एच. डि गरेको फुइँ लगाउने डाक्टर बनूँ ,
म ड्राइभर बनूँ वा खलासी ,
चोर बनूँ वा साधु,
इन्जिनियर बनूँ वा इटा जोड्ने डकर्मी ,
न्यायाधीश बनूँ वा अपराधी,
हावापानीले चिन्ने होइन ।
म अमेरिका जाऊँ वा अफ्रिका,
नेपाल बसूँ वा विदेश जाऊँ
आकाशमा तारा चम्कन छोड्ने वा अँध्यारो हुन रोकिने होइन ।
म यो पृथ्वीमा रहूँ वा नरहूँ,
म बाचूँ वा मरूँ
मेरो परिचित परिधि कति फराकिलो छ र ?
मभित्र
म मरेको मलाई नै थाहा हुने छैन भने
यो ब्रह्माण्डलाई के फरक पर्छ ?
टोलेमीको चेप्टो भूगोल , ग्यालिलियो र ब्रुनोले हेलियोसेन्टर, न्युटनले गतिका नियम र गुरुत्वाकर्षण , आइन्स्टाइनले सापेक्षतावादको सूत्र दिए, हकिङ्को ब्रह्माण्डको उत्पत्ति र लोपको सिद्धान्त पहिचान गर्नु र नगर्नुमा
यो ब्रह्माण्डलाई के फरक परेको छ र ?
पर्नेछ ?
धर्ती आफ्नो गतिमा घुमेकै छ
दिन र रातमा अन्तर आएको छैन
ॠतु परिवर्तन भएकै छ ।
मेरा उन्नति र अवनतिलाई
न प्रकृतिले चिन्छ ,
न मेरा प्राप्ति र अप्राप्तिले प्रकृतिको चाल परिवर्तन गराउँछन् ।
म शून्यसरी एकल भुसुनो !
तर म किन लडिरहेको छु ?
मेरा फुस्रा अहङ्कारका सीमा
सीमित परिधिभित्र किन फुङ्कार गरिरहेको छु ?
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्