बुटवल, रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि सञ्चालन गरिएको १६ दिने (९६ घण्टे) निःशुल्क डिजिटल मार्केटिङ तालिम बुटवलमा आजबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्घघाटन समारोहमाबोल्नुहुँदै डिजिटल प्रविधिको तीव्र विकाससँगै उद्योग तथा व्यवसायलाई समयसापेक्ष रूपमा अघि बढाउन डिजिटल मार्केटिङको ज्ञान अपरिहार्य भएको बताउनुभयो । वहाँले यस तालिमले स्थानीय उद्योगलाई प्रविधिमैत्री बनाउँदै बजार विस्तार, ब्रान्ड प्रवद्र्धन र रोजगारीका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुदैडिजिटल सीपले युवालाई रोजगारी खोज्ने मात्र नभइ, आफैं रोजगारी सिर्जना गर्न सक्ने उद्यमी बनाउने उल्लेख गर्नुभयो । साथै वहाँले रूपन्देही उद्योग संघले आगामी दिनमा समय सापेक्ष, परिणाममुखी र प्रविधिमैत्री सीप विकास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन गर्दै रूपन्देही उद्योग संघका महासचिव सुमन बस्यालले उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाउन डिजिटल सीप महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । वहाँले यस प्रकारको तालिमले उद्योगमा कार्यरत जनशक्तिलाई आधुनिक बजार प्रणालीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तालिमका प्रशिक्षक इन्जिनियर अमृत रानाभाट र विनय शर्माले तालिमको संरचना, उद्देश्य र सिकाइ विधिबारे जानकारी गराउँदै सामाजिक सञ्जाल मार्केटिङ, कन्टेन्ट निर्माण, डिजिटल विज्ञापन, ब्रान्डिङ, ग्राहक पहुँच विस्तार तथा अनलाइन व्यापार रणनीतिबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा १६ उद्योगबाट २० जनाको सहभागिता रहेको छ। तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको छ।स्थानीय उद्योग तथा पेशाकर्मीलाई डिजिटल रूपमा सक्षम बनाउँदै विदेशी प्रविधि तथा जनशक्तिमा निर्भरता घटाई सम्मानित रोजगारी र आत्मनिर्भरता प्रवद्र्धन गर्नु तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, माघ १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्