बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित समुदायको सशक्तिकरणका लागि बजेट, कार्यक्रम तथा नीतिगत तहबाट काम गर्दै आएको जनाएको छ।
जागरण मिडिया सेन्टरको सहकार्यमा शुक्रबार आयोजित ‘विभेदमुक्त नगर : समानतायुक्त नगर’ विषयक छलफल कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले नगरलाई मानव मर्यादामा आधारित बनाउने उद्देश्यसहित दलितमैत्री कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए। उनले दलित समुदायको उत्थान, सीप विकास तथा अधिकार सशक्तिकरणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तय गरिएको बताए।
उनका अनुसार नगरपालिकाले दलित समुदायको रणनीतिक विकास योजना, दलित पाश्वचित्र तथा जातीय भेदभाव र छुवाछुतसम्बन्धी कानुनी सामग्री समेत प्रकाशन गरेको छ।
त्यस्तै, वडा नं. ६ का अध्यक्ष गणेश पाठकले दलित समुदायमाथि ऐतिहासिक रूपमा विभेद र अन्याय हुँदै आएको स्वीकार गर्दै स्रोतसाधनको सीमितताका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए। उनले शिक्षा र आर्थिक अभावका कारण दलित समुदाय पछाडि परेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा प्रभावकारी कार्यक्रमसहित बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए।
नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राखेर नीति निर्माण गरिएको बताए। उनले पेशागत सामग्रीमा अनुदान, छुवाछुतविरुद्ध कानुनी सचेतना तथा स्थानीय सरकारको पहलमा नेपालमै पहिलो पटक ‘दलित ज्ञान उत्सव’ आयोजना गरिएको जानकारी दिए।
उनले दलित, महिला तथा सिमान्तकृत समुदायलाई लक्षित गर्दै बजेट, नीति र कार्यक्रममार्फत समेट्ने प्रयास भइरहेको बताए।
कार्यक्रममा जागरण मिडिया सेन्टरका महासचिव जगलाल नेपालीले तिलोत्तमा नगरपालिकाले दलित तथा सिमान्तकृत समुदायको पक्षमा सकारात्मक काम गरेको उल्लेख गर्दै आगामी बजेटमा अझ समुदायमुखी कार्यक्रम आवश्यक रहेको बताए।
छलफल कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य सञ्जय विश्वकर्मा, जिल्ला अध्यक्ष टंक सुनार, पत्रकार विनोद पयियार, फूलु सुनार लगायतले छुवाछुत अन्त्यका लागि प्रभावकारी तथा समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
प्रकाशित मिति : शनिबार, बैशाख १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्