तिलोत्तमा , रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका रु २३ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २०८३ वैशाख २८ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा चोरी पैठारी गरिएका रु २३ लाख ३ हजार २ सय ३७ बराबरका सामान नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा भन्सार कार्यालय बेलहियामा पठाएको जनाएको छ।
प्रहरीका अनुसार सिद्धार्थनगर, मायादेवी, रोहिणी, सियारी, गैडहवा, कोटहीमाई लगायतका क्षेत्रमा कपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य वस्तु, किराना सामान, बोइलर कुखुरा, केरा, धानको बीउ तथा मोटरसाइकलसहितका विभिन्न सामान बरामद गरिएको हो। सिद्धार्थनगरका विभिन्न स्थानबाट लेडिज सुट, कुर्ता, साडी, कस्मेटिक सामग्री, चेन, ब्लाउजमा प्रयोग हुने अस्थर, जाली टोपी, पन्जा, झुमर लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी रोहिणी गाउँपालिकाको टिकर क्षेत्रबाट ठूलो परिमाणमा माला, कानबाली, टप, हार, ब्रासलेट तथा प्याकिङ प्लास्टिक बरामद गरिएको छ।
यस्तै मायादेवी, सियारी तथा रोहिणी क्षेत्रबाट मोटरसाइकलमा अवैध रूपमा ओसारपसार गरिएका बोइलर कुखुरा पनि नियन्त्रणमा लिइएको छ। विभिन्न स्थानबाट केरा, चिनी, खुर्सानी, जुस, धानको बीउ तथा अन्य दैनिक उपभोग्य सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि नियमित निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ।
प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्