दाङ , लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्थासम्बन्धी सेवा प्रवाह हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका ६ जिल्लासहित ७ स्थानबाट सवारीदर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा बिस्तार गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालय नभएका जिल्ला गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुमपूर्व र बर्दियासहित दाङको घोराहीबाट सवारीदर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा प्रवाह गर्ने निर्णय गरेको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए ।
यातायात सेवा कार्यालय नहुँदा त्यहाँका नागरिकहरू सवारीदर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवाका लागि दाङ, बाँके तथा बुटवल सम्म पुग्नुपर्ने बाध्यता थियो ।
रुकुमपूर्व, प्युठान, रोल्पाका नागरिक सेवा लिन दाङ आउनुपर्ने बाध्यता रहँदै आएको थियो भने गुल्मी, अर्घाखाँचीका सेवाग्राहीहरूलाई बुटवल पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो ।
त्यसै गरी बर्दियाका सेवाग्राहीहरू बाँकेस्थित नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । अब भने सेवाग्राहीहरूले आफ्नै जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयबाट यो सेवा प्राप्त गर्नेछन् ।
उनका अनुसार उद्योग, पर्यटन तथा यातायात मन्त्रालय मातहतका जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयहरूमार्फत यातायात सेवा प्रवाह गरिनेछ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्