भूमिहीन सुकुम्वासीको राष्ट्रिय भेला सम्पन्न, थप आन्दोलन घोषणा

भूमिहीन सुकुम्वासीको राष्ट्रिय भेला सम्पन्न, थप आन्दोलन घोषणा

रुपन्देही – भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको पहिलो चरणको राष्ट्रिय भेलाले सरकारविरुद्ध थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्दै खगेन्द्र पौडेलको अध्यक्षतामा ७५ सदस्यीय राष्ट्रिय समन्वय समिति गठन गरेको छ ।

आइतबारदेखि बुटवलमा आयोजना भएको राष्ट्रिय भेला सोमबार नेतृत्व चयन गर्दै सकिएको हो । देशका विभिन्न जिल्लाबाट यो भेलामा हजारौं सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरू सहभागी भएका थिए । उनीहरूले विरोध प्रदर्शनसहित भेला आयोजना गर्दै भूमि अधिकार सुनिश्चित गर्न सरकारमाथि दबाब बढाउने निर्णय गरेका हुन् ।

भेलापछि सल्लाहकार वीरेन्द्र विकले अब आन्दोलनलाई देशव्यापी बनाउँदै काठमाडौं केन्द्रित संघर्षका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । भेलाले १३ बुँदे प्रस्ताव पारित गर्दै तत्काल लालपुर्जा वितरणदेखि डोजर आतंक बन्द गर्नुपर्ने माग अघि सारेको छ ।

भेलाले भूमि ऐनअनुसार नाप–नक्सा सम्पन्न भइसकेका क्षेत्रहरूको बाँकी प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल पूरा गरी भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई शीघ्र लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेको छ । त्यसैगरी भूमिहीन दलित सुकुम्वासीलाई आवास तथा कृषि प्रयोजनका लागि आवश्यक जग्गाको लालपुर्जा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउनुपर्ने प्रस्ताव पारित गरिएको छ ।

अव्यवस्थित बसोबासीलाई भूमि ऐनले तोकेको अधिकतम क्षेत्रफलभित्र रहने गरी आवास तथा कृषि प्रयोजनका लागि न्यून शुल्कमा जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने भेलाको माग छ । संविधानको धारा ३७ ले सुनिश्चित गरेको आवासको मौलिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि भेलाले सरकारलाई आग्रह गरेको छ ।

पूर्ववर्ती आयोगद्वारा नाप–नक्सा हुन बाँकी रहेका क्षेत्रहरूमा तत्काल नापी कार्य सम्पन्न गरी सम्बन्धित लाभग्राहीलाई लालपुर्जा वितरण गर्नुपर्ने मागसमेत उठाइएको छ । यसअघि आयोगहरूले गरेका अध्ययन, अभिलेखीकरण तथा नाप–नक्सा कार्यलाई निरन्तरता दिनुपर्ने प्रस्ताव भेलाले पारित गरेको छ ।

भेलाले तिनाउ–दानव करिडोर पीडित, मोतिपुर औद्योगिक क्षेत्र पीडित, दाङको महेन्द्र संस्कृत विश्वविद्यालय क्षेत्रका प्रभावित नागरिकलगायत देशभरका समान प्रकृतिका बस्तीलाई उचित क्षतिपूर्ति सहित सुरक्षित स्थानमा व्यवस्थापन गर्न माग गरेको छ । विगतमा भएका सहमति कार्यान्वयन गर्दै उनीहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

देशभर भूमिहीन, दलित तथा सुकुम्वासीमाथि डोजर प्रयोग गरेर गरिने निष्कासन, घरटहरा भत्काउने तथा अमानवीय व्यवहार तत्काल बन्द गर्न भेलाले सरकारलाई चेतावनी दिएको छ । बाढी, पहिरो, डुबान तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित तथा व्यवस्थित स्थानमा पुनःस्थापना गर्नुपर्ने माग पनि भेलाले अघि सारेको छ ।

भूमिहीन तथा सुकुम्वासी समुदायमाथि हुने दमन, गिरफ्तारी, धम्की र मानवअधिकार उल्लंघन तत्काल अन्त्य गर्नुपर्ने भेलाको माग छ । वन ऐन र भूमि सम्बन्धी कानुनबीच बाझिएका प्रावधान हटाएर सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित हुने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

भेलाले भूमि सम्बन्धी ऐनमा नयाँ दफा थप गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ । सरकारी, सार्वजनिक संस्था, गुठी, वन क्षेत्र, मठमन्दिर तथा सार्वजनिक प्रयोजनका लागि दर्ता रहेका बाहेक अन्य जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासी तथा भूमिहीनलाई बसेकै स्थानमा एकपटकका लागि जग्गा उपलब्ध गराई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

मानव बस्ती स्थापना भइसकेपछि सरकारी वा संस्थागत नाममा दर्ता गरिएको जग्गामा समेत दीर्घकालीन बसोबास पुष्टि भए आवश्यक मापदण्ड पूरा गरेका नागरिकलाई जग्गाधनी प्रमाण–पुर्जा दिन बाधा नपर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातायातलगायत आधारभूत सेवा उपलब्ध हुने सुरक्षित स्थानमा पुनःस्थापना गर्नुपर्ने मागसमेत राखिएको छ ।

भेलाले संघर्षका थप कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जेष्ठ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्ने, जेष्ठ ११ गते प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका शीर्ष नेता तथा मानवअधिकारकर्मीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै जेष्ठ १४ गते राजनीतिक दलका प्रमुख, भूमि सम्बन्धी विज्ञ तथा सरोकारवालाको उपस्थितिमा काठमाडौंमा सडक अन्तरक्रिया गर्ने निर्णय गरिएको छ । परिस्थिति अनुसार काठमाडौंमा बृहत् सभा आयोजना गर्ने तयारीसमेत गरिएको जनाइएको छ ।

भेलाले संसद्, राजनीतिक दल र राष्ट्रिय मानवअधिकार आयोगसँग सडक संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

तेस्रो चरणअन्तर्गत राष्ट्रिय स्तरमा काठमाडौं केन्द्रित सशक्त आन्दोलन सञ्चालन गरिने जनाइएको छ । सिंहदरबार केन्द्रित मार्च कार्यक्रम, धर्ना, प्रदर्शन तथा खबरदारी सभा निरन्तर सञ्चालन गरिने भेलाले जनाएको छ ।

साथै सुकुम्वासी हटाइएका स्थानहरूमा संघर्षको प्रतीकस्वरूप टेन्ट आन्दोलन सञ्चालन गर्ने, राजनीतिक तथा कूटनीतिक पहललाई सशक्त बनाउने, अन्तर्राष्ट्रिय मानवअधिकार संस्थालाई जानकारी गराउने तथा संयुक्त राष्ट्रसंघीय आवास अधिकारसम्बन्धी निकायमा औपचारिक ध्यानाकर्षण गराउने कार्यक्रमसमेत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij