बुटवल । भाटभटेनी समुहका अध्यक्ष व्यवसायी मीनबहादुर गुरुङले ७१ करोडको लागतमा निर्मित बाल अस्पतालको भवन हस्तान्तरण गरेका छन । गुरूङले ७१ करोड ४ लाख ४२ हजार २४४ रुपैयाँ लागतमा भवन निर्माण गरी काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन्।
काठमाडौँको बुढानीलकण्ठमा निर्माण भएको यो बाल अस्पताल वरिष्ठ चिकित्सक डा. भगवान् कोइरालाको पहल तथा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ लगायतको सहयोगमा निर्माण भएको हो ।अस्पतालले काठमाडौँसहित सातवटै प्रदेशमा बाल स्वास्थ्य सेवा सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ ।
नवनिर्मित बाल अस्पताल भवन जगत्गुरु शंकराचार्य श्री विधुशेखर भारतीज्यूको पावन उपस्थितिमा सनिबार समुद्घाटन तथा हस्तान्तरण सम्पन्न भएकाे हाे। अस्पतालले अब हजारौँ बालबालिकालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास लिइएको छ। गुरूङकाे मानवताप्रति समर्पित यो योगदान साँच्चै प्रेरणादायी र प्रशंसनीय छ।
उद्घाटन समारोहमा बोल्दै जगद्गुरु भारतीले मीनबहादुर गुरुङले गरेको दानका कारण नेपालका बालबालिकाको उपचारमा सहयोग पुगेको भन्दै आगामी दिनमा पनि यो सामर्थ्य भगवानले प्रदान गर्ने विश्वासको व्यक्त गरे ।
“आगामी दिनमा पनि यो सामर्थ्य भगवानले प्रदान गर्नुहुनेछ,” उनको भनाइ थियो, “अघि बढाउने मन पनि दिनुभएको छ । पैसा हुनेले पनि यो निकै कम गर्छन् ।” हरेक व्यक्तिलाई भगवानले केही न केही दिएको बताउँदै पैसाले मात्रै पनि केही नहुने हुँदा पुण्य कामका लागि खर्च गर्न तयार हुनुपर्ने उनले बताए ।
“पैसाले मात्रै पनि केही काम हुँदैन । पैसाले आफैँ काम गर्दैन, चलाउन पैसा चाहिन्छ,” उनले भने, “यसलाई कसरी उपयोग गर्ने हो भन्ने सोच्नुपर्छ । यो पैसालाई ठिक तरिकाले चलाउन जान्नुपर्छ । एक व्यक्तिले मात्रै काम पनि हुँदैन । सबै यसमा जोडिनुपर्छ । त्यसका लागि जनबल चाहिन्छ । सामूहिक शक्ति चाहिन्छ । सबै मिलेर काम गर्न सकियो भने मात्रै प्रतिफल प्राप्त हुन्छ ।” उनले नेपालका बालबालिकाको उपचारका लागि अस्पताल बनेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सबैको सदिच्छाका कारण यो सहयोग सम्भव भएको बताउँदै जगद्गुरुसहित सबैलाई धन्यवाद दिएका थिए । अस्पतालका अध्यक्ष डा. कोइरालाले सम्पूर्ण आगन्तुकलाई स्वागत गर्दै अस्पताल निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बनेको यो अस्पताल भारतमा बनेको ताजमहल जत्तिकै महत्वको रहेको बताइन । उनले भनिन्, “जगद्गुरुको कृपाबाट पनि आशीर्वाद पनि छ । उहाँका पूर्वजबाट पनि यो संस्थाले आशीर्वाद पायो । यो अटल हुन्छ । यसले उद्देश्य पूरा गर्छ भन्नेमा म विश्वस्त छु । मीनबहादुरजीलाई जगदगुरुले तिम्रो मन खुलिरहोस् भनेर आशीर्वाद दिनुभएको छ । त्यो आशीर्वाद पूरा हुनेछ ।”
व्यवसायी गुरूङ नेपालका एक दानवीर उद्मी हुन् । उनले यस अघि पनि काठमाण्डाैकै टिचिङ अस्पतालमा आफ्ना स्व. आमा बुबाकाे नाममा भवन निमार्ण गरि अस्पताललाई हस्तान्तरण गरेका थिए ।
काेभिड हाेस या बाढी पहिराे देशमा पर्ने हरेक बिपत्तीमा खुला मनले सहयाेग गर्नेमा गुरूङ सबै भन्दा अगाडी आउने गरेका छन् । उनले भाटभटेनी फाउन्डेसन मार्फत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाइ पढाउदै पनि आएका छन। देशैभरी भाटभटेनीका शाखा बिस्तार गरेका उनले भाटभटेनी मार्फत स्थानिए स्तरमा पनि नियमित सहयाेग गर्दे आएका छन्।
प्रकाशित मिति : आइतबार, जेष्ठ १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्