बुटवल- बुटवल उपमहानगरपालिकाको आयोजनामा २०औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस बिहीबार विभिन्न कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा सहभागी अधिकांश वक्ताले संविधानले जातीय विभेदलाई निषेध गरे पनि व्यवहारिक रूपमा यसको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले लामो संघर्ष र विभिन्न चुनौतीहरू पार गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउन सकिएको बताए। उनले जातीय विभेद अन्त्यका लागि उपमहानगरपालिका निरन्तर सक्रिय रहेको उल्लेख गर्दै नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएका विसे नगर्चीको सम्मानका लागि बुटवल–२ फुलबारीमा शालिक निर्माणमा सहयोग गरिएको जानकारी दिए। विसे नगर्चीको योगदानलाई पाठ्यक्रम तथा राज्यस्तरबाट पर्याप्त सम्मान नदिइएको उल्लेख गर्दै उनले उक्त पहलले देशभर सकारात्मक सन्देश प्रवाह गरेको बताए।
उपप्रमुख तथा दलित नगर उत्थान समन्वय समितिकी संयोजक सावित्रादेवी अर्यालले समाज परिवर्तनमा दलित समुदायको योगदान महत्वपूर्ण रहेको बताइन्। संविधान संशोधन र समावेशी व्यवस्थाकै कारण महिलाले नेतृत्व तहमा अवसर पाएको उल्लेख गर्दै उनले महिलाको मुद्दासँगै दलित समुदायका सवाललाई पनि प्राथमिकताका साथ उठाउँदै आएको बताइन्। उनले दलित समुदायको उत्थान र सशक्तीकरणका लागि उपमहानगरपालिकाले विभिन्न सीपमूलक तथा आयआर्जनसम्बन्धी तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै सामाजिक रूपान्तरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
बुटवल–१५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले सतीप्रथाको अन्त्य सम्भव भएझैँ जातीय विभेदको अन्त्य पनि सम्भव रहेको बताउँदै समानता र न्यायमा आधारित समाज निर्माणका लागि सबैले साझा प्रयास गर्नुपर्ने धारणा राखे। ब्राह्मण समाज नेपालका अध्यक्ष हरिप्रसाद उपाध्यायले छुवाछुत प्रथाले सामाजिक द्वन्द्व सिर्जना गर्ने भएकाले यसको अन्त्यका लागि दलित समुदायलाई मूलधारमा समेट्नुपर्ने बताए।
वरिष्ठ पत्रकार ऋषि धमलाले संविधानले विभेदलाई स्वीकार नगरे पनि व्यवहारमा विभेद कायम रहेको उल्लेख गर्दै जातीय विभेदविरुद्ध दलित समुदाय एकजुट हुनुपर्ने बताए। उनले आफूले लामो समयदेखि जातीय विभेद अन्त्यका पक्षमा बहस र लेखन गर्दै आएको स्मरण गराए।
परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपालीले विभेदमुक्त र समतामूलक समाज निर्माणका लागि गैरदलित समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले जातीय विभेद अन्त्यका लागि दलित समुदायबीच एकता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
समाजसेवी बाबुराम विश्वकर्माले सरकारले जातीय विभेद अन्त्यका लागि कानुनी व्यवस्था गरे पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको टिप्पणी गरे। उनले दलित समुदायको आर्थिक सशक्तीकरण, उद्यमशीलता र चेतनास्तर वृद्धिबाट मात्रै वास्तविक परिवर्तन सम्भव हुने बताए।
कार्यक्रममा कार्यपालिका सदस्य यमबहादुर सुनार, बसन्ती विकलगायत वक्ताले जातीय विभेद सामाजिक कलंक भएको उल्लेख गर्दै यसको अन्त्यका लागि स्थानीय, प्रदेश र संघीय सरकार सबैले प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा कार्यपालिका सदस्यद्वय सुनिता खड्लुक र कृष्णबहादुर सुनार, दलित उत्थान समन्वय समिति बुटवलका सदस्य माया परियार र थानबहादुर विक, विभिन्न वडाका जनप्रतिनिधि, विसे नगर्ची एकताको प्रतीक नेपालका अध्यक्ष रामबहादुर रणपाल, बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोकुल विश्वकर्मा, दलित अगुवा राजु रोका, समाजसेवी जुद्ध विकलगायतको उल्लेख्य सहभागिता रहेको थियो।
दलित नगर समन्वय समितिका सहसंयोजक रवि विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रम सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख तारा भुसालले सञ्चालन गरेकी थिइन्।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्