काठमाडौं – भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाँच्न ठाडो आदेश दिएका छन् । नागढुंगा-मुग्लिङ सडक आयोजनाको अनुगमनका क्रममा उनले सरकारका जिम्मेवार अधिकारीहरुलाई यस्तो आदेश दिएका हुन् ।
पश्चिमदेखि पूर्वसम्म निर्माणाधीश सडकहरूको अवलोकन गर्ने क्रममा मन्त्री लम्साल हिजो केहीबेर उक्त सडकखण्डमा रोकिएका थिए । त्यहाँ निरीक्षणका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, आयोजना प्रमुख लगायत पनि सहभागी भए । मन्त्रीले उनीहरूलाई ठेकेदारहरूलाई छिटो काम गराउन निर्देशन दिए ।
यहाँको पोलवाला हो नि बिजुलीको पोल… त्यो कन्ट्रयाक्टरलाई कहाँ छ, यो धरतीमा जहाँ भए पनि खोजेर ल्याउनु… त्यसलाई यहीँ राख…घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँच्दिनू । मतलब भएन । यिनीहरूलाई चाँडैभन्दा चाँडै पोल सार्नुपर्यो । यहाँको पब्लिकले धेरै दु:ख पायो । तिनीहरूलाई काम गराउनुपर्यो राम्रोसँग ।
काम छिटो गराउन मन्त्रीले कर्मचारीतन्त्रलाई झक्झक्याउने कुरा स्वभाविक भए पनि ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने’ निर्देशन गैरकानूनी निर्माण व्यवसायी बताउँछन् । नेपाल निर्माण व्यवसायी महासंघका एक पदाधिकारीले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको टिप्पणी गरे ।
उनले भने, ‘ठेकेदारले सम्झौता बमोजिम काम नगरेको खण्डमा उसलाई सरकारले कानूनी कारबाहीको दायरामा ल्याउन सक्छ । तर, ठेकेदारमाथि भौतिक आक्रमण गर्ने निर्देशन दिनु निन्दनीय हो । यसको हामी घोर भत्र्सना गर्छौँ ।’

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले सडक अनुगमनका क्रममा भौतिक पूर्वाधारमन्त्रीले काम छिटो गर्न निर्देशन दिएको बताइन् । ठेकेदारको खुट्टा भाँच्ने कुरा आफूले नसुनेको उनको दाबी छ ।
‘उहाँको मुख्य आशय बाटो निर्माण छिटो होस् र कुनै पनि पक्षबाट ढिलाइ नहोस भन्ने थियो । बाँकी कुरा त मलाई थाहा भएन । माननीय मन्त्रीज्यूसँगै बुझ्दा राम्रो होला,’ उनले भनिन् ।
‘सार्वजनिक भएको भिडिओमा मन्त्रीले प्रष्ट शब्दमा खुट्टा भाँच्दिनुस् भन्नुभएको छ, तपाईंले सुन्नुभएन ?’ भन्ने नेपाल प्रेसको प्रश्नमा उनको जवाफ छ, ‘त्यस्तो आशय पटक्कै होइन । कुनै पनि बहानामा ढिलो नहोस्, कतै अवरोध भएमा सैह्य हुँदैन भन्न खोज्नुभएको हो । बाटोमा समस्या छ नि त ! पूर्वपश्चिम हाइवे, व्यस्त रोड भएकाले उहाँले तदारुकता देखाउनुभएको हो ।’
प्रधामन्त्री वालेन्द्र शाहले चुनावअघि एक भाषणका क्रममा ठेकेदारलाई रुखमा बाँधेर भए पनि काम लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए । भौतिक पूर्वाधारमन्त्री लम्साल बालेन निकटस्थ हुन् । मन्त्री भएदेखि नै उनले ठेकेदारहरूप्रति कडा रवैया देखाइरहेका छन् । केही निर्माण व्यवसाायीलाई धरपकड गरेर मन्त्रालय लैजाने काम समेत भएका थिए ।
प्रकाशित मिति : सोमबार, असार १ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्