असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

काठमाण्डाै – सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण शुरू गर्ने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनुभएको हो ।

काठमाण्डाैका सुकुम्वासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ । लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या आएको भन्दै सुकुम्वासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन् । अघिल्ला सरकारहरूले भूमि आयोगमार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमिसम्बन्धी समिति बनाएर सुकुम्वासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।

मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार बितेका ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनात्मक परिवर्तन गरेको बताउनुभयो ।

यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्यकोषको एक पैसा पनि खर्च नभएको दाबी गर्नुभयो ।

पछिल्लो ३ महिनामा ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४५२ जना साना बचतकर्ताको ५९ लाख ४ हजार ६०० रुपैयाँ फिर्ता गरिएको उहाँले जानकारी दिनुभयो । त्यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको हो ।

पछिल्लो ३ महिनामा ३ करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, असार ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij