बुटवल । बुटवलका विभिन्न ठाउँबाट विहिबार राती ७ जना युवाहरु लागुऔषधसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको साइलेन्ट स्ट्रिट अभियान अन्तरगत उनीहरुलाई पक्राउ गरिएको हो ।
कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक निसान्त श्रीवास्तवका अनुसार पक्राउ परेका युवाहरुको साथबाट गाँजा लगायतका लागुऔषध भेटिएको थियो । प्रहरीले चेकजाँचको क्रममा अन्य ८ जना युवाहरुलाई पक्राउ गरि सम्झाई-बुझाई गरेर विहिबार रातीनै छाडेको छ । यसैगरी प्रहरीले बुटवलका विभिन्न ठाउँबाट ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरी नायव उपरीक्षक श्रीवास्तवका अनुसार स्वरुप परीवर्तन गरि चर्को स्वर निकाल्ने तथा आवश्यक कागजात पूरा नभएका मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । यस बारे थप अनुसन्धान गरि कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । बुटवलमा प्रहरीले साइलेन्ट स्ट्रिट अभियान मार्फत यसअघि पनि विभिन्न समयमा सवारीका साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ ।
अभियान अन्तरगत प्रहरी विहिबार साँझ बुटवलको बदेलपोखरी, पाल्पाको नुवाकोट, बेलबास, देविनगर, कालिका पथ, अमरपथ, सख्खानगर तथा देवदहको चरङ्गे क्षेत्रमा समेत चेकजाँच गरेको थियो । पछिल्लो समय प्रहरीको सक्रियतासँगै बुटवलमा चर्को आवाज गरेर ध्वनी प्रदुषण गर्ने प्रवृत्ति न्यून भएको छ । प्रहरीले स्वरुप परिवर्तन गरिएका मोटरसाइकल तथा चार पाङ्ग्रे सवारीलाई समेत कारबाही गर्दै आएको छ । उक्त कुरालाई निरुत्साहित गर्न स्वरुप परिवर्तन गर्ने ग्यारेजहरुमा समेत निगरानी बढाएर उनीहरुलाई पनि कारबाही गर्दै आएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्