बुटवलमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार सम्बन्धी नगरस्तरीय परामर्श कार्यक्रम सुरु

बुटवलमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार सम्बन्धी नगरस्तरीय परामर्श कार्यक्रम सुरु

 

​बुटवल,

“समावेशी समाज निर्माणमा सबैको सहभागिता” भन्ने मूल नाराका साथ बुटवलमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार, समावेशिता तथा सामाजिक सचेतनाका लागि दुई दिने नगरस्तरीय परामर्श कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले अझै पनि समाजमा विभिन्न प्रकारका चुनौती र विभेदको सामना गरिरहेका बेला उनीहरूको अधिकार सुनिश्चित गर्न, सामाजिक स्वीकार्यता बढाउन तथा सरोकारवालाहरूबीच साझा बुझाइ विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

​साहसी कदम नेपाल (SKN) को आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा बुटवलको इँटाभट्टीस्थित एशियन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा यस समुदायका प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो सहभागिता रहेको छ। दुई दिनसम्म चल्ने यस कार्यक्रममा विभिन्न कार्यपत्र प्रस्तुत हुनुका साथै विभिन्न प्यानलहरूमा सरोकारवालाहरूबीच गहन छलफल समेत गरिनेछ।

​कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हकअधिकार सुनिश्चित गर्न नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस समुदायका नागरिकलाई सहज रूपमा पहिचानसहितको नागरिकता उपलब्ध गराउन नगरपालिकाले सहयोगी भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा समेत आवश्यक बजेट विनियोजन गरी यस समुदायको हितमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​त्यस्तै, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले वडाले आफ्नो क्षेत्रभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आवश्यक सहयोग गर्दै आएको बताउनुभयो। उहाँले हालै मात्र आफ्नो वडाबाट यस समुदायका व्यक्तिहरूलाई राज्यबाट प्रदान गरिने नागरिकता प्राप्त गर्न आवश्यक सिफारिस र सहयोग गरिएको जानकारी दिनुभयो।

​कार्यक्रममा नीलहिरा समाजका निर्देशक अजय साम्बाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले रोजगारीका क्षेत्रमा अझै पनि ठुलो समस्या भोग्नुपरेको औँल्याउनुभयो। सरकारी तथा गैरसरकारी संस्थामा महिला र पुरुषको आधारमा मात्र अवसर उपलब्ध हुने प्रवृत्तिका कारण अन्य लैङ्गिक पहिचान भएका व्यक्तिहरूले योग्यता भएर पनि रोजगारी पाउन कठिनाइ झेल्नुपरेको उहाँको भनाइ थियो। विगतको तुलनामा सामाजिक दृष्टिकोणमा केही परिवर्तन आए पनि रोजगार र कानुनी अधिकारका क्षेत्रमा अझै धेरै सुधार आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

​कार्यक्रमकी अध्यक्ष एवं साहसी कदम नेपालकी अध्यक्ष हसिना क्षेत्री साहसीले दुई दिनसम्म सञ्चालन हुने यस परामर्श कार्यक्रमले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे समाजमा व्याप्त भ्रमहरू चिर्दै सही जानकारी प्रवाह गर्ने उद्देश्य राखेको बताउनुभयो। उहाँले यो समुदायलाई समाजको अभिन्न अङ्ग तथा समान अधिकार भएका नागरिकका रूपमा स्वीकार गर्ने वातावरण निर्माण गर्न राज्य र नागरिक समाज दुवैको उत्तिकै भूमिका रहनेमा जोड दिनुभयो।

​कार्यक्रमको पहिलो दिन सहभागीहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको अधिकार संरक्षण, सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पहिचानका विविध विषयमा व्यापक छलफल गरेका थिए। साथै, समुदायप्रति समाजमा रहेका भ्रम र पूर्वाग्रह हटाउन सबै पक्षले साझा प्रयास गर्नुपर्ने निष्कर्ष समेत निकालिएको थियो।

​असार ६ गते (शनिबार) सम्म चल्ने यस परामर्श कार्यक्रमले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउनुका साथै उनीहरूको कानुनी र सामाजिक अधिकार सुनिश्चित गर्न राज्यलाई थप दबाब र प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, असार ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij