काठमाडौँ , नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपासँग दुईवटा प्रमुख एजेन्डा मिलेकाले यसमा आफूहरूको निरन्तर साथ र सहयोग रहने बताएका छन्।
रास्वपाको जारी महाधिवेशनमा नेता वर्षमा पुनमार्फत लिखित सन्देश पठाएका उनले समाज रूपान्तरण र सुशासनको एजेन्डा नेकपासँग मिलेको बताएका हुन्।
‘तपाईँहरू महाधिवेशनमार्फत पहिलो पटक देशव्यापी पूर्ण रूपमा संगठनका आकारमा जाँदै हुनुहुन्छ। हाम्रा कैयौँ विषयमा समानता छन्। दुबै शक्तिले निरन्तरतामा क्रमभंगता गरेर आफ्नो बाटो तय गरेका हौँ’, प्रचण्डले सन्देशमार्फत भनेका छन्, ‘समाज रूपान्तरणमा समानता छ। अर्को समानता सुशासनको एजेन्डामा छ।’
सुशासन, पारदर्शीता र थिति बनाउने अभियानमा नेकपाको समर्थन रहने पनि प्रचण्डले सन्देशमार्फत उल्लेख गरेका छन्। साथै उनले थिति बसाउने क्रममा संविधान र कानुनलाई पनि केन्द्रमा राख्न आग्रह गरेका छन्।
‘सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा हाम्रो पूर्ण समर्थन छ। भ्रष्टाचार नियान्त्रण र सुशासनको एजेन्डामा सँगै थियौँ, छौँ र रहनेछौँ’, उनले भनेका छन्, ‘थिति बसाउने काम विधि र संविधानसम्मत होस्।’
प्रचण्डले व्यवस्था संस्थागत गर्ने कुरामा थप प्रतिबद्धताको अपेक्षा पनि रास्वपाबाट गरेका छन्। उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ उच्च तहको प्रतिबद्धता महाधिवेशनबाट आइदियोस्।’
प्रकाशित मिति : आइतबार, असार ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्