बुटवल , समावेशी मञ्च नेपालको आयोजनामा बुटवलमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व तथा समावेशीकरणका लागि सरोकारवाला सहितको पैरवी समूह गठन गरिएको छ।

कार्यक्रममा समावेशी मञ्च नेपालका कार्यकारी निर्देशक गंगा थापाले संस्थाको परिचय, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकहरूको अवस्था, पहिचान, अभियान, उपलब्धि तथा ‘ब्रेकिङ ब्यारियर्स’ परियोजनाबारे जानकारी गराउनुभएको थियो।
त्यसैगरी, समावेशी मञ्च नेपालका संस्थापक अध्यक्ष डिलु बुढुजाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकले सामाजिक तथा राजनीतिक क्षेत्रमा भोग्नुपरेका विभेद र असमानताका अनुभव सुनाउँदै यस्ता विभेद अन्त्यका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकलाई संबिधानले दिएको अधिकारलाई समेत कार्यान्वयन गर्न नदिएको हरेक क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिक भएकै कारण अबसरबाट बन्चित हुनु परेकोमा दुस्ख ब्यक्त गर्नुभयो।
कार्यक्रमले सामाजिक संस्था, नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी तथा कानुनी क्षेत्रका प्रतिनिधिहरूलाई समेटेर २० सदस्यीय पैरवी समूह गठन गरेको छ । विनोद बिकको संयोजकत्वमा गठन गरिएको सो समूहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न स्वयंसेवी रूपमा पैरवी गर्ने आयोजकले जनाएको छ ।
समूहले जनचेतना अभिवृद्धि, अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण, नीतिगत व्यवस्था, राजनीतिक दलबाट उम्मेदवारीको अवसर, निर्वाचन प्रणालीमा पहुँच तथा सार्वजनिक संस्थाहरूमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अर्थपूर्ण सहभागिताका लागि पैरवी गर्नेछ।
कार्यक्रममा अधिकारकर्मी विजया खत्री, नेपाली कांग्रेस तिलोत्तमा–३ वडा समितिका सचिव दिनेशमणि सुवेदी तथा नेकपा एमाले रुपन्देही जिल्ला कमिटीका कार्यवाहक सचिव बाबुराम पन्थीलगायतले राजनीतिक दलभित्र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दामा पर्याप्त छलफल हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा यस विषयलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
वक्ताहरूले लोकतान्त्रिक प्रणालीमा सबै नागरिकको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व बढाउन आवश्यक नीति, संरचना र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति : मंगलबार, असार ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्