बुटवल । रुपन्देही जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा सुनका सिक्रीहरू तान्ने (स्न्याचिङ गर्ने) कार्यमा संलग्न ५ जनालाई प्रहरीले बरामद सामानसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बुधबार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ६ स्थित सूर्यपुरा हाटबजारमा भीडभाडको मौका छोपेर घाँटीमा लगाएको सिक्री तान्ने युवा पक्राउ परेका छन् । गणेश भगवानको लकेटसहितको सुनको सिक्री तानी भाग्ने क्रममा बारा जिल्ला बारागढी गाउँपालिका वडा नं. ३ शिवपुरा बस्ने २५ वर्षीय विकास रायलाई इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले पक्राउ गरेको थियो। उनको साथबाट १० ग्राम ८३० मिलिग्राम तौल भएको १ थान सुनको सिक्री बरामद गरिएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको छ।
त्यसैगरी, दोस्रो घटना यही असार १० गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राईभरटोल स्थित चाँदनीमार्गमा भएको थियो। बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले सुनको सिक्री लुटेर फरार भएका थिए। उक्त घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बुटवलले सुनका सिक्रीसहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत गोरखपुर बस्ने ३२ वर्षीय राहुल जयसवाल, भारत महाराजगंज बस्ने २२ वर्षीय प्रिन्स जयसवाल, भारत बिहार बस्ने ३० वर्षीय नितेश कुमार गुप्ता र रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने ३२ वर्षीय प्रदिप कान्दु रहेका छन्। पक्राउ परेका सबै जनामाथि प्रहरीले थप अनुसन्धान कार्य जारी राखेको छ।
प्रकाशित मिति : शुक्रबार, असार १९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्