बुटवल–१७ स्थित नेपाल एभरग्रीन पब्लिक स्कुलका भूपू विद्यार्थी समितिले गुरुपूर्णिमाको पावन अवसरमा शिक्षक सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरूले आफूहरूलाई शिक्षा, मार्गदर्शन र संस्कार प्रदान गर्ने गुरुहरूप्रति कृतज्ञता प्रकट गर्दै टीका, माला तथा सम्मान पत्र मायाको चिनो अर्पण गरी सम्मान गरेका थिए।
भूपू विद्यार्थी समितिका अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष बालकृष्ण तिवारी प्रमुख अतिथि हुनुहुन्थ्यो। प्रमुख अतिथिको आसनबाट बोल्दै तिवारीले गुरु–शिष्यको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। बाल्यकालदेखि नै प्राप्त गुरुको सही मार्गदर्शनले नै व्यक्तिको उज्ज्वल भविष्य र जीवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले गुरुप्रति आदर र सम्मान प्रकट गर्नु प्रत्येक विद्यार्थीको कर्तव्य भएको उहाँको भनाइ थियो।
कार्यक्रममा भूपू शिक्षक तथा सञ्चालक समितिका सल्लाहकार उमानन्द घिमिरेले शिक्षक पेसा आफैंमा मर्यादित र सम्मानित रहेको उल्लेख गर्नुभयो। आफूले पढाएका विद्यार्थीहरू समाजका विभिन्न क्षेत्रमा सफल भएर गुरुलाई सम्मान गर्न फर्कनु नै शिक्षकका लागि जीवनकै सबैभन्दा ठूलो उपलब्धि र गौरवको क्षण हुने उहाँले बताउनुभयो।
विद्यालयका प्राचार्य कपिलमणि ढकालले पूर्व विद्यार्थीहरूबाट प्राप्त यस सम्मानले विद्यालय परिवारलाई थप दायित्वबोध गराएको र यो सिङ्गो संस्थाकै लागि गौरवको विषय भएको बताउनुभयो। समयसँगै शिक्षक–विद्यार्थीबीचको सम्बन्ध अझ परिपक्व र बलियो बन्दै जानु नै शिक्षाको वास्तविक सफलता भएको धारणा उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा सह–प्राचार्य विष्णु अर्याल, भूपू विद्यार्थी खिमानन्द पाण्डे, विद्यार्थी दिपजंग राना लगायतले गुरुहरूको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
समितिका उपाध्यक्ष टिकाराम गैरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक कुसल पाण्डेले गर्नुभएको थियो।
प्रकाशित मिति : बुधबार, साउन १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्