रोहिणीमा २७१ थान लालपूर्जा वितरण

रोहिणीमा २७१ थान लालपूर्जा वितरण

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका ५ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । शुक्रबार रोहिणी–५ मा आयोजित समारोहमा २७१ थान लालपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।

 

समारोहमा स्थानीयलाई संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, नापी कार्यालय रुपन्देहीका  प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीलगायतले लालपूर्जा वितरण गर्नुभएको थियो ।

 

कार्यक्रममा बोल्नुहुँदै मन्त्री लम्सालले भूमिहिन तथा अव्यवस्थित बसोबासीका समस्याहरु यसै वर्ष समाधान गर्न विधेयक ल्याउन लागिएको बताउनुभयो । उहाँले यो समस्या छिटो सम्बोधन गरिने बताउनुभयो । समस्या समाधान गर्न प्रत्येक पालिकाको प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई प्रमुख जिल्ला अधिकारी र नापी कार्यालयसँग सहकार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले जनताको हरेक समस्या समाधान गर्न सरकार अघि बढेको बताउनुभयो ।

‘अब रोहिणी गाउँपालिकाले मुहार फेर्दैछ । हामीले बजेटमार्फत यसको मुहार फेर्नका लागि आधार तयार गरिसकेका छौं । अब यहाँको सडक, विद्यालय र स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्नेछौं । अब पालिकालाई डुबानमुक्त पाउनुहुनेछ । अब जति डुबान हुन्छ, यही वर्ष हुन्छ, अर्को वर्षदेखि डुबानको समस्या यहाँ हुँदैन । यो मेरो वाचा भयो, ’उहाँले भन्नुभयो ।

मन्त्रालय नै यो ठाउँमा बसेर चलाउन कार्यालय स्थापना गर्न लागेको उहाँले बताउनुभयो । असोज महिनामा रोहिणी गाउँपालिकामै बसेर मन्त्रालय चलाउने र त्यतिबेला नीतिगत समाधानका लागि जनताको गुनासो सुन्ने उहाँको भनाइ छ । उहाँले जनताको समस्या समाधान गर्न वडादेखि जिल्लासम्म नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताहरुलाई परिचालन हुन आग्रह समेत गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जनतासँग गरिएको वाचाअनुसार काम गरिरहेको बताउनुभयो । उहाँले नापी कार्यालय, रुपन्देहीसँग समन्वय गरेर लालपूर्जा वितरण गरिएको बताउनुभयो । ‘यो केही दिनको मात्र नभइ वर्षौको प्रयास हो, ’उहाँले भन्नुभयो–‘वर्षौदेखि लालपूर्जाबिहीन नागरिकलाई लालपूर्जा वितरण गर्न पाउँदा खुसी छौं ।’

नापी कार्यालय, रुपन्देहीका प्रमुख मणि प्रसाद रेग्मीले लालपूर्जा वितरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले रोहिणी गाउँपालिकाको विशेष सहयोग तथा समन्वयमा यो कार्यक्रम गर्न सफल भएको बताउनुभयो । यो कार्यक्रमलाई नागरिकको अधिकार सुनिश्चित गर्ने उपलब्धीको रुपमा लिएका उहाँको भनाइ छ । सबै स्थानीय तहबाट यस्तै सहयोगको अपेक्षा राखेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुस प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत गाउँब्लक क्षेत्रको जग्गा लामो समयदेखि भोगचलन गरे पनि कानूनी रुपमा स्वामीत्व प्रमाणित गर्ने लालपूर्जा नहुँदा स्थानीयबासी अनेकौं समस्याबाट गुज्रिरहेको बताउनुभयो । उहाँले नापी कार्यालयको अथक प्रयास र गाउँपालिकाको समन्वयबाट यो काम गर्न सफल भएका बताउनुभयो ।

कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेश सदस्य संजय कुमार गुप्ता, रोहिणी गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष सरोज कुमार पाण्डेय, गाउँपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत विकास ज्ञवालीलगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij