काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितले पाउँदै आएका औषधिको सूची परिर्माजन भएको छ । स्वास्थ्य बिमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बिमामार्फत उपलब्ध हुने औषधिहरूमध्ये १८७ वटा औषधि हटाएको हो ।
नयाँ सूचीअनुसार अब स्वास्थ्य बिमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् । यसअघि बिमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए ।
स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, औषधिको संख्या घटाउनुको अर्थ बिमितले पाउने उपचार सुविधा कटौती गर्नु भने होइन । उनले भने, “एउटै प्रकृतिका औषधिको दोहोरोपन, सरकारले निःशुल्क रूपमा दिँदै आएको औषधि, औषधि व्यवस्था विभागले प्रयोगमा नल्याउनु भनेको र लिष्टमा रहेको तर प्रयोगमा कहिल्यै नआएको औषधिहरूलाई हटाइएको हो ।”
मल्लका अनुसार स्वास्थ्य बिमा सूचीमा एउटै प्रकृतिका उपचारमा प्रयोग हुने एकभन्दा बढी औषधि समावेश थिए ।
बोर्डले नयाँ सुविधा थैली असार ३० गतेको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो । स्वीकृत नयाँ व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आएको हो ।
औषधिको संख्या घटे पनि बीमित नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दाबी छ ।
बोर्डका अनुसार नयाँ सूची तयार गर्दा स्वास्थ्य संस्थाबाट आएका सुझाव तथा व्यवहारमा औषधिको प्रयोगको अवस्थालाई समेत आधार बनाइएको छ । त्यसैले सूचीमा औषधिको संख्या घटे पनि आवश्यक उपचारमा असर नपर्ने बोर्डको दाबी छ ।
प्रकाशित मिति : बुधबार, साउन २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्